१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

जोखिम मोलेर खोलिँदै कर्णाली करिडोरको ट्र्याक

२६ माघ, सिमकोट कर्णाली प्रदेशको समृद्धिसँग जोडिएको कर्णाली करिडोरको हुम्ला खण्डमा नेपाली सेना र श्रमिकहरूले ज्यानै जोखिममा राखेर सडक निर्माण कार्यलाई तीव्रता दिएका छन् । सेनालाई जिम्मा लगाएको हुम्ला खण्डको सडकलाई प्रारम्भिक ट्र्याक खोल्ने कार्य आगामी असारभित्र सम्पन्न गर्नुपर्ने भएपछि सेनाले कामलाई तीव्रता दिएको हो ।

बिहान साढे ६ देखि बेलुका अँध्यारो नहुँदासम्म चट्टान विस्फोटका लागि ‘होल’ खोप्ने काम गर्दै आएका सर्केगार्ड गाउँपालिका ४ का प्रेमबहादुर शाहीले निकै डरलाग्दो भीरमा ज्यान जोखिममा राखेर काम गरिरहेको बताए । डोरीले शरीर बाँधेर कडा चट्टानमा खोप्ने कार्य निकै जोखिमपूर्ण भए पनि कामदार कडा मेहनतका साथ काम गरिरहेको उनले जानकारी दिए । उनको समूहमा आठ कामदार छन् ।

कर्णाली करिडोरको कवाडी सलीसल्ला खण्डको बालुकुनादेखि सलीसल्लासम्मको १२ किलोमिटर दूरीलाई निकै जोखिम क्षेत्र मानिएको खबर गोरखापत्र दैनिकमा छ । कडा चट्टानका साथै जमिन भिरालो र चट्टानी भीर भएका कारण माथिबाट ढुंगा खस्ने जोखिम छ । टाउकोमा हेलमेट, आँखामा चस्मा, खुट्टामा गमबुट, शरीरमा डोरी बाँधिएको अवस्थामा समयमै काम पूरा गर्न सडक निर्माणमा खटिएका स्थानीय मजदुर र नेपाली सेनाका जवान क्रियाशील छन् ।

सेनाले कर्णाली करिडोरअन्तर्गत काम सम्पन्न गरेको क्षेत्रमा सडक स्तरीय र चौडा रूपमा निर्माण भएको छ । हुम्ला खण्डमा निर्माणको कार्य धमाधम भइरहेको जिल्ला दक्षिणी क्षेत्रको अनुगमन गरेर आएकी प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईले जानकारी दिइन् । तर हुम्ला खण्डमा काम गर्ने मजदुरले निकै जोखिम लिएर काम गरिरहेको उनले बताइन् ।

कर्णाली करिडोरको हुम्ला खण्डमा आधा दर्जन भीर फुटाउने कार्य एकसाथ भइरहेको र त्यो कार्य निकै जोखिम रहेको सेनाका खुलालु, लैफु कवाडी हुँदै सलीसल्ला सडक आयोजनाका प्रमुख मेजर इन्जिनियर मिलन कार्कीले बताए । यसमा सलीसल्ला, नेरघार, खच्चा, पम्पडे, बालुकुनालगायतका कडा चट्टानी र असजिला भीर रहेको उनले बताए ।

करिडोरका कवाडीदेखि सलीसल्लसम्मको ६१ किलोमिटर सडक निर्माणका लागि सेनाका २१० र अन्य कामदार गरी ३५० जना रहेको बताउँदै कार्कीले १९ वटा होल खोप्ने मेसिनबाट काम भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०७६, आईतवार ०७:०४