३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

चितवनमा विकासको लहरः रत्ननगरदेखि सिद्धिसम्मको सडकको बुधबार शिलान्यास

–शिशिर सिंखडा
२६ वैशाख, चितवन । पूर्वी चितवनको रत्ननगरस्थित बकुलहरदेखि कालिका नगरपालिकाको जमुनापुर, खोलेसिल, जुटपानी, शक्तिखोर हुँदै सिद्धिसम्म निर्माण हुने बाटोको बुधबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।


कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभाका सांसद घनश्याम दाहालले कालिका नगरपालिकाको वडा नं. ८ स्थित टेम्पो पार्क नजिकै सो सडकको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै सांसद दाहालले स्थानीय कालिका नगरपालिका तीव्र रुपमा विकास निर्माणमा लागेकोमा प्रशंसा गर्दै प्रदेश सांसदको हैसियतले यस नगरपालिकालाई तीव्र रुपमा विकास निर्माणहरु गर्न जस्तोसुकै सहयोग गर्न आफु तयार रहेको बताए । निर्वाचनमा सबै दलले समृद्धिको नारा अघि सारेको स्मरण गर्दै सरकारले गरेको यस्ता विकास निर्माणमा सबै दलले साथ र सहयोग दिनुपर्ने समेत सांसद दाहालको भनाइ थियो ।

नगरपालिकालाई समृद्ध बनाउन लागिरहेको छु – मेयर श्रेष्ठ
शिलान्यास कार्यक्रममा बोल्दै कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले विकास निर्माणका क्रममा कोही कसैसँग पनि गुणस्तरको विषयमा सम्झौता नहुने भन्दै सबै तह र क्षेत्रबाट गुणस्तरीय विकास निर्माणमा अनुगमन गर्न नगरवासीलाई उनले अनुरोध समेत गरे । नगरपालिकाले नगरको पहाडी क्षेत्रलाई विकास गर्न बढी जोड दिएको बताउँदै पहाडी भूभागमा सडक, विद्युत, शिक्षा, स्वास्थ्य लगायतका पहँुच पु¥याउन सके मात्र नगरपालिका समृद्धि तर्फ अगाडि बढ्ने भएकोले यसतर्फ आफु लागेको मेयर श्रेष्ठले बताए ।


कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मी, वडा नं. १ का वडा अध्यक्ष लीला बहादुर गुरुङ्ग, सडक निर्माणको जिम्मा लिएको स्वच्छन्द निर्माण सेवा प्रा. लि. काठमाडौंका प्रतिनिधि जीवनाथ पन्त लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

रत्ननगरको बकुलहरदेखि सिद्धिसम्मको साढे १७ किलोमिटर बाटोमा कालोपत्रे गरिने इन्जिनियर बिरेन्द्र चौधरीले जानकारी दिए । यस अगाडि कालोपत्रे भइसकेका बाटोमा कालोपत्रे नगरिने तर भत्किएका, बिग्रीएका सो सडक खण्डमा भने आवश्यकता अनुसार कालोपत्रे गरिने समेत उनले जानकारी दिए । ११ मिटर चौडाइको बाटो कायम गरी आवश्यकता अनुसार ढल समेत निर्माण गरिने योजना रहेको उनले बताए । १८ महिनाभित्र कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको सो सडक नेपाल सरकार, भुकम्प आपतकालिन सहयोग योजना अन्तर्गत जिल्ला प्राविधिक कार्यालय चितवन मार्फत् निर्माण अगाडि बढाइएको छ ।

५ मिटर चौडाइको कालोपत्रे हुने सो सडकमा आवश्यक स्थानमा कल्भर्ट निर्माण, ह्युमपाईप राख्ने लगायतका संरचना समेत निर्माण गरिने छ । सो सडक खण्ड अन्तर्गत शक्तिखोरको दोगरासम्म कालोपत्रे गरिने छ भने सो स्थानदेखि २ किलोमिटर माथिसम्म उच्च स्तरको ग्रावेल गर्ने समेत योजना रहेको छ । सो सडक निर्माण सम्पन्न भएपछि कालिका नगरपालिकाका पहाडी क्षेत्रका नगरवासी एवम् इच्छाकामना गाउँपालिकाका केही नगरवासीहरुले पनि लाभ लिनेछन् ।

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार २२:०६