१४ पुष २०८२, सोमबार | Tue Dec 30 2025

प्रदेश २ को सरकार विघटनको संघारमा, संघीय संसदको उपसभामुखमा राजपाका उम्मेदवार !

२५ माघ, काठमाडौं । उपेन्द्र यादवको समाजवादी पार्टी नेपालले जब सरकार छाड्यो- तब वर्तमान सरकार दुईतिहाइको रहेन । यसको मतलब स्पष्ट बहुमत भने कायमै छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अब दुईतिहाइ पुर्‍याउन राष्ट्रिय जनता पार्टी नेपाल या नेपाली कांग्रेससँग मिल्नुको विकल्प छैन । हुन त दुईतिहाइ मेजरिटी नहुँदैमा सरकार ढलिहाल्छ भन्ने त होइन तर पनि बहुमत मात्र कायम छ । पहिले उपेन्द्र यादवसँग मिलेर नेकपाले दुईतिहाइ बनाए पनि अहिलेको अवस्था भने बहुमतभन्दा माथि उठ्न सकेको अवस्था भने छैन ।

अब सरकारले सदनमा आफ्नो स्पष्ट दुईतिहाइ पुर्‍याउन कांग्रेस या राजपासँग मिल्नुको विकल्प छैन । रह्यो कांग्रेसको कुरा यो झन्डै असम्भवजस्तै छ । तर राजपासँग भने नेकपाको सहकार्य हुन भने सक्छ । यदि राजपा-नेकपा सहकार्य भए कांग्रेस त हर्ष न विस्मातमै रहने हो । तर राजपा र नेकपा दुवैलाई भने फाइदा हुने स्पष्ट देखिन्छ । यसका लागि नेकपालाई हुने फाइदाबारे पहिले चर्चा गरौं ।

नेकपा र राजपाबीच समीकरण मिले नेकपालाई प्रदेश २ मा सरकार बनाउन मद्द मिल्नेछ । अहिले प्रदेश २ मा प्रतिपक्षी बनेको नेकपा यो समीकरणसँगै कि प्रदेश २ सरकारको नेतृत्व गर्न सक्छ या त सरकारमा सहभागी भई आफ्ना प्रदेश सांसदहरुलाई सत्तामा पुर्‍याउन सक्छ ।

अर्को कुरा नेकपाले प्रदेश २ को सरकारको नेतृत्व गर्नु भनेको उपेन्द्र नेतृत्वको समाजवादी पार्टीका उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री लालबाबु राउत सरकारबाट बाहिरिनेछन् र प्रतिपक्षीको भूमिकामा थन्किनेछन् । अर्को कुरा राजपा-समाजवादीबीचको समीकरण यत्तिमै टुंगिनेछ ।

बरु नेकपाले प्रदेश २ को नेतृत्व राजपालाई नै दिएर भए पनि समाजवादी पार्टीलाई प्रतिपक्षीमा थन्क्याउनै चाहन्छ । अझ प्रदेश २ को नेतृत्व आफूले पाए राजपालाई संघीय संसदको उपसभामुख पद पनि उपहारमै दिन चाहन्छ ।

यता राजपालाई पनि यो समीकरण बने घाटै हुने अवस्था भने आउँदैन । यसको मतलब राजपा-नेकपाको समीकरणमा फाइदा दुवैलाई हुने स्पष्ट देखिन्छ । घाटा त समाजवादीलाई हुनेछ । कांग्रेस न घाटा न फाइदाको स्थितिमा हुनेछ । राजपा अहिले प्रदेश २ को सरकारमा समेल मात्र छ । अझ केही अघि राजपाबाटै मन्त्री बनेकी डिम्पलकुमारी झा सरकारको काम प्रति असन्तुष्टि देखाउँदै सरकारबाटै बाहिरिइन् । अर्थात् मन्त्री पदबाट राजीनामा दिइन् । यी डिम्पलकुमारी राजपा नेता अनिल झाकी श्रीमतिसमेत हुन् ।

यहीबाटै थाहा हुन्छ कि प्रदेश २ सरकार फेर्ने मनस्थितिमा राजपा पनि पुगेको छ । राजपाले अहिलेको अवस्थामा प्रदेश २ सरकारको नेतृत्व गर्न नपाए झै नेकपालाई सरकारको नेतृत्व दिएर आफू अहिलेकै झै सरकारमा बसेर सत्ताको चास्नी खान पाए पनि फाइदैमा हुने देखेको छ । अर्को कुरा प्रदेश २ को सरकार फेरेसँगै राजपालाई संघीय संसदको उपाध्यक्ष पद झन् बोनसमै पाउने पक्का देखिन्छ । प्रदेश २ को सरकारको नेतृत्व नेकपाले पाउने हो भने उपाध्यक्षको पद दिन कुनै आइतबार कुर्नुपर्ने अवस्था नेकपालाई छैन ।

यही समीकरण मिलाउन नेकपाले पनि संघीय संसदको सभामुखमा आफ्ना पार्टीका अग्निप्रसाद सापकोटालाई हतारमै ल्याए पनि उपध्यक्षका लागि हतार गरेको छैन । राजपालाई संसदको उपाध्यक्ष दिएर प्रदेश २ को सरकारको नेतृत्व पनि आफैंले गर्ने नेकपाले तयारी गरिरहेको छ ।

यदि उपसभामुख राजपालाई दिने हो भने प्रदेश २ को समीकरण फेर्नुपर्ने सर्तसहित नेकपा अघि बढेको देखिन्छ । उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि देखाइ दिन्छु नि भन्ने रणनीतिमा नेकपा अघि बढेको देखिन्छ । समीकरण फेर्नकै लागि अहिले नेकपा-राजपाबीच छलफल घनिभूत रुपमा अघि बढिरहेको बालुवाटार स्रोतको दाबी छ ।

नेकपा यसमा राजपासँग प्याकेजमै सहमति अघि अघि बढ्न चाहेको सन्देश प्रवाह गरिरहेको छ । यो विषयमा अस्ति बुधबारयता २ पटक राजपा नेता महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल चलेको अवस्था छ ।

यो प्याकेजमै गरिने सहमतिका विषयमा राजपा अहिले पर्ख र हेरको नीतिमा रहेको बुझ्न सकिन्छ । उसो त प्रदेश २ को समीकरण फेरिएसँगै नेकपाले राजपालाई केन्द्रीय सरकारमा सामेल गर्दै २ वटासम्म मन्त्रालयको जिम्मासमेत दिन सकिने भन्दै कार्ड अघि सारेको बताइन्छ । सत्ताका भोगी राजपा पनि सरकारमा सहभागी हुनु पर्ने र प्रदेश २ को वर्तमान समीकरण बदल्दै नेकपाको नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने भन्दै केही नेताहरु लबिइङमै लागेको देख्न सकिन्छ ।

अब राजपा-नेकपाबीच जतिसक्दो चाँडो प्रदेश २ को वर्तमान समीकरण बदल्दै सरकार बनाउने तयारीमा छन् । स्रोतका अनुसार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उपसभामुख पदसँगै प्रदेश २ सरकारको समीकरण फेर्न राजपा नेता ठाकुरलाई प्रस्ताव गरेका थिए । उपसभामुखका लागि प्रधानमन्त्रीका थप सर्तमा राजपा संघीय सरकारमा आउनुपर्ने, त्यसपछि मात्र संवैधानिक आयोग र राजदूतहरूमा सहमति गर्न सकिने छन् ।

यसको मतलब सरकारमा सामेल हुनुका साथै संवैधानिक आयोग र राजदूतहरुमा पनि राजपाका व्यक्तिहरुलाई ल्याउन सकिने गरि नेकपाले लचकता देखाएसँगै पछिल्लोपटक राजपाका नेताहरु पनि समीकरण बदलेर अघि बढ्ने तयारीमा रहेको देखिन्छ ।

प्रदेश २ को वर्तमान समीकरण फेर्ने, केन्द्रीय र प्रदेश सरकारमा सहभागी हुने, उपसभामुख आफ्नै पार्टीलाई पार्ने, संवैधानिक निकाय तथा राजदूतमा आफ्ना व्यक्त सिफारिस गर्नुपर्ने तयारीमा राजपाका नेता राजेन्द्र महतो भने खुलेरै लागेको देख्न सकिन्छ । जे होस्- चाँडै होस् । राजनीतिक सहमितका नाममा अन्योल धेरै दिनसम्म राख्नु हुँदैन । समयमै सबै सकेर समृद्धिको पथमा अघि बढ्नु अहिलेको आवश्यकता पनि हो ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार १०:००