१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

तरकारीमा बढ्यो परनिर्भरता

२४ माघ, काठमाडौं । देशमा तरकारीप्रतिको परनिर्भरता घट्नुको साटो झन् बढ्न थालेको छ । देशको केन्द्रीय तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आलुमा थप परनिर्भरता बढेको छ ।

फाइल तस्बिर ।

समितिले बिहीबार गरेको सुनुवाइमा आव ०७५/७६ मा उपत्यकावासीको मागको ४० प्रतिशत मात्रै आलु भारतबाट आयात गरिएकामा चालू आवको पहिलो सात महिनामै यसको आयात मागको ६६ प्रतिशत रहेको छ । हरेक तरकारीमा यस्तै परनिर्भरता बढ्ने हो भने भारतले आलुमा पनि कुनै दिन प्रतिबन्ध लगाएको खण्डमा प्याजमा जस्तो नहोला भन्न सकिन्न । यस्तै परनिर्भरताको असर अहिले लसुनमा पनि देखिएको छ ।

चालू आर्थिक वर्षमा कालीमाटी बजारमा ३९ हजार १५३ मेट्रिक टन आलु भित्रिएकामा २६ हजार १५ मेट्रिक टन भारतबाट आयात भएको खबर गोरखापत्र दैनिकमा छ ।

आपूर्ति बढेन
बजारमा तरकारीको माग बर्सेनि बढेको छ तर योअनुरूप आपूर्ति नहुँदा यसको भाउ पुस महिनासम्म महँगो भएको थियो । अहिले क्रमशः घटेको छ । समितिका उपनिर्देशक विनय श्रेष्ठले हाल दैनिक आठ सय टनसम्म तरकारी बजारमा भित्रिएको जानकारी दिए । चालू आवको सात महिनासम्म बजारमा उपत्यकावासीको मागअनुसार आपूर्ति नहुँदा भाउ निरन्तर उकालो लागे पनि अब भने सस्तो हुने सङ्केत देखिएको उनको दाबी छ ।

लसुन अझै महँगो हुने
बजारमा केही दिनदेखि लसुनको भाउ आकाशिएको छ । अहिले थोकमा यसको मुल्य प्रतिकेजी ६ सय रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको छ । खुद्रा बजारमा पाउ (२००ग्राम) कै १७० देखि १८० रुपैयाँमा किनबेच भइरहेको छ । लसुनमा ९५ प्रतिशत माग चीनले धान्दै आएकामा त्यहाँबाट आउन छाडेसँगै भाउ आकाशिएको कालीमाटी समितिले जनाइएको छ । चीनमा कोरोना भाइरसका कारण नेपाल आउने सबै नाका बन्द भएकाले यसको असर लसुनको मूल्यमा परेको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार ०६:४७