१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

२४ माघ, पोखरा । सरकारको सेवाप्रवाह सेवा छिटोछरितो र सर्वसुलभ साथै प्रविधिमैत्री बनाउने उद्देश्यले ल्याइएको डिजिटल अनलाइन प्रविधिले सेवाग्राहीलाई झनै सास्ती भएको छ । यातायात व्यवस्था कार्यालय गण्डकीमा सेवा लिन पुग्ने सेवाग्राहीले कहिले सर्भर नचल्दा त कहिले अनलाइन नखुल्दा हैरानी बेहोर्नुपरेको छ ।

पोखरा महानगरपालिका १७, बिरौटाका नवीन हमाल सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को काम लिएर कार्यालयको सवारीचालक अनुमतिपत्र शाखा पुगे । सर्भर नचल्दा उनलाई भोलिपल्ट आउन भनियो । त्यसको २ दिनपछि बिहान ९ बजे नै कार्यालय पुग्दा पुन: २ घण्टा लाममा बसे । पछि फेरि सर्भर नचलेको भन्दै कर्मचारीले उनलाई फर्काइदिए ।

हमाल मात्र होइन, लाइसेन्सको काम लिएर कार्यालय आउने धेरै सेवाग्राहीले सर्भरका कारण यस्तै सास्ती भोग्ने गरेको खबर गोरखापत्र दैनिकमा छ । प्रायः दैनिकजसो सर्भरले काम नगर्दा सेवाग्राहीको काम हुँदैन । यसको समाधानका लागि पनि कुनै पहल भएको छैन ।

कार्यालयका निमित्त प्रमुख हरिप्रसाद गौतम कर्मचारीले सेवाग्राहीको काम छिटोछरितो गर्न चाहे पनि सर्भरका कारण समस्या भएको बताउँछन् । केन्द्रीय प्रणाली अर्थात् यातायात विभागमार्फत कार्यालयको सर्भरले काम गर्ने हुँदा समस्या परेको उनको भनाइ छ । सर्भर जुनसुकै बेला पनि डाउन हुने गरेको र त्यसको समाधान कर्मचारीको हातमा नरहेकाले समस्या परेको उनको भनाइ छ ।

कार्यालयका सूचना अधिकारी भरतराज काफ्ले भौतिक संरचनाको लेआउट नमिलेका कारण पनि काममा समस्या परेको बताउँछन् । कार्यालय अब छिटै नयाँ भवनमा सर्न लागेको र त्यसपछि काममा केही सहज हुने भनाइ उनको छ । चालक अनुमतिपत्रका लागि आवेदन फर्म छोटो समयका लागि खुल्ने र ह्याक गर्न सक्नेले मात्र सेवा लिनसक्ने र अरूले नसक्ने गरेका कारणसमेत समस्या भएको काफ्ले बताउँछन् ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार ०६:३०