१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

घटेनन् सीपबिनै विदेश जाने महिला

२३ माघ, काठमाडौं सरकारले सीपयुक्त जनशक्तिलाई प्राथमिकता दिँदै आए पनि विदेश जाने अधिकांश महिला सीपबिनै जाने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले तयार गरेको प्रतिवेदनले रोजगारीमा जानेमध्ये पुरुषको तुलनामा महिला श्रमिक सीपबिना नै विदेशिने धेरै रहेको पाइएको हो ।

प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा गएका महिलामध्ये ५९ प्रतिशत अदक्ष श्रमिक रहेको खबर गोरखापत्र दैनिकमा छ । प्रतिवेदनमा कुल महिला श्रमिकमध्ये ५८ दशमलव ८४ प्रतिशत कुनै पनि सीपबिना नै जाने गरेको उल्लेख छ । प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा जानेमध्ये उच्च दक्षतायुक्त सीप भएका महिलाको सङ्ख्या ०.०६ प्रतिशत अर्थात् ६१ जना मात्र छन् । यसैगरी उच्च दक्षतायुक्त सीप भएका पुरुषको सङ्ख्या ०.०५ प्रतिशत अर्थात् ७८७ रहेको पाइएको छ । विगत तीन वर्षमा पेसाविद्का रूपमा श्रम स्वीकृति लिएर गएका महिलाको हिस्सा ०.३० प्रतिशत अर्थात् २९४ हुँदा सोही पेसामा जाने पुरुषको सङ्ख्या ०.११ प्रतिशत अर्थात् एक हजार ७४५ छ ।

महिलाको प्रमुख श्रम गन्तव्य कुवेत

नेपाली महिलाका लागि प्रमुख श्रम गन्तव्य मुलुक कुवेत रहेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको आव ०७५/७६ को प्रगति प्रतिवेदनअनुसार गत वर्ष सबैभन्दा धेरै महिला कुवेत गएका छन् । यस्तै वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृतिका मुख्य गन्तव्यमा क्रमशः कतार, साउदी अरेबिया, यूएई, मलेसिया छन् । तर महिलाको हकमा भने प्रमुख गन्तव्य कुवेत छ ।

महिलाका लागि कुवेतपछि क्रमशः प्रमुख गन्तव्य मुलुक जर्मनी, माल्दिभ्स, माल्टा, डेनमार्क, टर्की, इजरायल, इजिप्ट, लेबनान, स्विडेन छन् । स्विडेनमा व्यक्तिगत तवरले श्रम स्वीकृतिमा जाने महिला मात्र रहेका छन् भने कुवेत, डेनमार्क, जर्मनी र इजरायलमा कुल व्यक्तिगत श्रम स्वीकृति लिनेमा महिला ८० प्रतिशतभन्दा बढी रहेको देखिन्छ ।

प्रतिवेदनअनुसार व्यक्तिगत श्रम स्वीकृति लिने कुल एक लाख १५ हजार ३९८ मध्ये २७ दशमलव ६ प्रतिशत अर्थात् ३१ हजार ८२० महिला छन् । पुनः श्रम स्वीकृति लिनेमा महिलाको सङ्ख्या कुल श्रम स्वीकृति लिनेकै हाराहारीमा अर्थात् ४ प्रतिशत देखिन्छ ।

कुल १५ लाख ८७ हजार ६५४ पटक पुनः श्रम स्वीकृति लिएकामा महिलाको सङ्ख्या ६४ हजार ५०७ रहेको छ । कुवेतमा हालसम्म संस्थागत श्रम स्वीकृतिमा पाँच हजार १५१ महिला गएकामा व्यक्तिगत रूपमा जानेको सङ्ख्या २० हजार २८७ रहेको छ । नेपाली महिलाको सुरक्षाका हिसाबले चुनौती देखिएका देशमा संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृति लिनेको सङ्ख्या धेरै देखिएको छ । जुन देश गए पनि महिला घरेलु श्रमिक वा केयरगिभरका रूपमा गएको देखिन्छ ।

वैदेशिक रोजगारीमा गएका महिलाको जिल्लागत विवरणको तथ्याङ्क विश्लेषण गर्दा पाँचवटा जिल्ला झापा, मोरङ, सुनसरी, चितवन र सिन्धुपाल्चोक क्रमशः श्रम स्वीकृति लिनेमा अगाडि रहेका छन् । यीमध्ये ५० प्रतिशत महिला झापाका छन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार ०६:३३