२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

कांग्रेस उपसभापति गच्छदार सांसदबाट स्वतः निलम्बित

२२ माघ, काठमाडौँ । कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बित भएका छन् । अख्तियारले गच्छदारविरुद्ध ललितानिवास जग्गा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बित भएका हुन् ।


अख्तियारले बुधबार प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय गर्दा बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको घटनामा उनी दोषी रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

ललितानिवासको सरकारी जग्गा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा नक्कली मोही हुँदै व्यक्तिका नाममा पुगेको थियो। गच्छदार त्यतिबेला भौतिक पूर्वाधार मन्त्री थिए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्बन्धी ऐनको दफा १७ मा सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा चलेको अवस्थामा किनारा नभएसम्म स्वत: निलम्बन हुने व्यवस्था छ। गच्छदारले मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा संसदमा पनि जान पाउने छैनन् ।

प्रकाशित मिति : 19:24