१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

विदेशबाट फर्किने श्रमिकको पनि तथ्यांक राख्न सुरु

२१ माघ, काठमाडौं सरकारले वैदेशिक रोजगारमा जाने र फर्किने दुवैको आधिकारिक तथ्यांक राख्न थालेको छ । अध्यागमन विभागको सूचना व्यवस्थापन प्रणालीसँगको सहकार्यमा गएको सोमबारदेखि विदेशबाट फर्कने नेपालीको पनि तथ्यांक राख्न थालिएको हो ।

अहिलेसम्म विदेश जानेको आधिकारिक तथ्यांक भनेको वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएकालाई मात्रै आधार मान्ने चलन थियो । अब भने श्रमस्वीकृति लिएका सबै गए वा नगएको र विदेशबाट फर्किनेको तथ्यांक पनि पाइने भएको खबर गोरखापत्र दैनिकमा छ ।

वैदेशिक रोजगार विभागका अनुसार विभागबाट दैनिक औसतमा एक हजारभन्दा बढी युवा वैदेशिक रोजगारका लागि अन्तिम श्रमस्वीकृति लिने गरेका छन् । अब अध्यागमन विभागले पनि छुट्टै तथ्यांक राख्ने हुँदा रोजगारीमा जान अन्तिम श्रमस्वीकृति लिने, कति वैदेशिक रोजगारीमा गए र कति फर्किए भन्ने यकिन तथ्यांक आउने विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए ।

अध्यागमन विभागले वैदेशिक रोजगारमा जाने र फर्किनेको तथ्यांक राख्न थालेसँगै सरकारसँग कुन देशमा कति नेपाली नागरिक वैधानिक वा अवैधानिक भएर बसेका छन् त्यो पनि हेर्न सकिने भुसालको भनाइ छ । अहिले अन्तिम श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएका कति फर्किए र कति अवैधानिक रूपमा बसेका छन् त्यो जानकारी सरकारसँग छैन ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलवार ०६:५६