६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

प्राकृतिक ताल सुक्दै, कृत्रिम बनाइँदै


१९ माघ, काठमाडौं  ‘सिमसार र जैविक विविधता’ नाराका साथ यस वर्षको सिमसार दिवस आइतबार विभिन्न कार्यक्रमसाथ मनाइँदै छ । सिमसार क्षेत्रको सही र उपयोगी व्यवस्थापन गर्दै जैविक विविधता र वन्यजन्तुको संरक्षणमा जोड दिन नेपालमा यो नारा तय गरिएको वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागले जनाएको छ ।

सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै सिमसारको महत्व र मूल्यबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो । सन् १९९८ देखि प्रत्येक वर्ष नयाँ नारा कोर्ने गरिएको खबर गोरखापत्र दैनिकमा छ । राष्ट्रिय सिमसार नीति २०१२, पाँचवर्षे राष्ट्रिय रामसार रणनीति २०१८ र सिमसार समितिको अग्रसरतामा नेपालमा सिमसार क्षेत्रको संरक्षणको प्रयास भइरहेको विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले जानकारी दिए ।

रणनीतिअनुसार सरकारले सरोकारवाला संरक्षण समूहलाई सीधै बजेट दिएर संरक्षणका लागि प्रेरित गर्छ । सिमसारमा आउने परिवर्तन विश्वव्यापी जलवायु परिवर्तनको असरसँग जोडिएको उनी प्रस्ट्याउँछन् । महानिर्देशक भट्टराईले भने, “नेपाल पहाड र हिमाल धेरै भएको देश हो, माथिबाट पानी बगेपछि थेग्रिने क्रम बढी हुन्छ । यसले सिमसार क्षेत्र कमजोर बनाउँदै पानीको तह गहिराइमा पुर्‍याउँछ । सिमसार संरक्षण गर्दा प्रकृतिको विरुद्ध नगई अलिक फरक किसिमले व्यवस्थापन गर्न मात्र सकिने छ ।”

विश्वभर नै यो दिवसका अवसरमा विगतमा भए गरेका कार्यको समीक्षा गर्ने र भविष्यमा गरिने कार्यको खाका प्रस्तुत गरी सिमसारको महत्त्व, आवश्यकता र उपयोगिताबारे जनचेतना अभिवृद्धि गरिने निकुञ्जका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले बताए । सोहीअनुसार नेपालमा पनि सिमसार क्षेत्रमा भए गरेका कार्यलाई जनसमक्ष पुर्‍याउन विश्व सिमसार दिवसमा देशैभर विविध कार्यक्रम गरिने उनले जानकारी दिए ।

घट्दैछन् सिमसार क्षेत्र
नेपालमा सिमसार क्षेत्रका रूपमा रहेका ताल, तलैया, घोल, नदी, चिस्यानका क्षेत्रमा ह्रास आएको संरक्षणकर्मीहरु बताउँछन् । पर्सा राष्ट्रिय निकुञ्ज देशका विभिन्न संरक्षण क्षेत्रमध्ये अत्यधिक सुक्खा क्षेत्रमा परिणत हुँदै छ ।

चुरे भावर क्षेत्रमा रहेको यो निकुञ्जको सिमसार क्षेत्र र पानीको स्रोत भनेको चुरे क्षेत्र नै हो तर यस क्षेत्रमा वन विनाशसँगै प्राकृतिक स्रोतको अत्यधिक दोहन हुँदा निकुञ्जमा हरेक वर्ष पानीको अभाव हुने गरेको छ । सिमसार क्षेत्र प्राकृतिक अवस्थामा रिचार्ज नहुँदा कृत्रिम पोखरीमा अन्यत्रबाट पानी बोकेर जम्मा गर्नुपर्ने अवस्था छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आईतवार ०६:५८