१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

राष्ट्रिय प्रसारणमा थपियो ६.६ मेगावाट विद्युत्

१८ माघ, काठमाडौं पछिल्ला दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने क्रम बढेको छ । सोही क्रममा निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाले आजदेखि विद्युत् उत्पादन सुरु गरेको छ ।

कुल ६ दशमलव ६ मेगावाट क्षमताको सो आयोजनाको विद्युत्‌गृह लमजुङको क्वहोलाछार गाउँपालिका ५, सिन्दीमा छ । विन्दवासिनी हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनाबाट उत्पादित बिजुली स्थानीय मिजुरेडाँडा सब-स्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

कुल १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत् उत्पादन हुनेछ । सो अवधिभर सरकारले बिजुलीको पैसा तिर्नुपर्दैन । परीक्षण प्रसारणको अवधि सकिएपछि व्यावसायिक उत्पादन शुरु हुने विन्दवासिनी हाइड्रोपावरका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

निर्माण शुरु भएको करिब दुई वर्षमै उत्पादन थालेको उक्त आयोजनाको प्रतिमेगावाट लागत रु १८ करोड पुगेको कम्पनीका सचिव जनार्दन अर्यालले जानकारी दिए । विन्दवासिनीले नै निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला–ए जलविद्युत् आयोजनाले गत वर्षको चैतदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ । यस्तै कुल ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनामा पनि विन्दवासिनी समूहले लगानी गरेको छ । –रासस

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार १९:१४