६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

१८ माघ, चितवन । छिमेकी मुलुक चीनमा देखिएको कोरोना भाइरसको प्रभाव चितवनको पर्यटन व्यवसायमा प्रत्यक्ष परेको छ । भाइरसको प्रभावले गर्दा चितवनमा चिनियाँ पर्यटक आउन बन्द भएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।

फाइल तस्बिर : रासस ।

‘जनवरीदेखि अप्रिलसम्म धेरै चिनियाँ पर्यटक चितवन घुम्न आउने गरेका थिए, भाइरसले गर्दा अहिले बन्द भएको छ,’ उनले भने, ‘यसको प्रभावले चीनको मात्र होइन अन्य देशका नागरिक पनि आउन पातलो भएको छ ।’ भन्नलाई गाह्रो भए पनि नयाँ वर्षदेखि नै सौराहा क्षेत्र सुनसान भएको पर्यटन व्यवसायीको भनाइ छ । ‘चीनमा भाइरस देखिनु, अन्य देशका नागरिक पनि सुरक्षाको कारण घुम्न आउन छाड्नु, भएका बुकिङ रद्द गर्नुले गर्दा अहिले सौराहामा आन्तरिक पर्यटकबाहेक अरू देख्न पाइँदैन,’ भट्टराईले भने । दैनिक पाँचदेखि सात सयको हाराहारीमा चिनियाँ पर्यटक आउने गरेको अध्यक्ष भट्टराई बताउँछन् ।

सौराहाका पर्यटन व्यवसायी माधव दुवाडीले भने, ‘कोरोना भाइरसको प्रभाव चितवनमा पनि देखियो । चीनका मात्र होइन अरू मुलुकबाट आउने पर्यटक पनि घट्दै गए ।’

पर्यटन विकास समिति महासचिव विश्व सुवेदीका अनुसार सन् २०१७ मा चितवन आउने कुल पर्यटकमध्ये चिनियाँ ३० प्रतिशत रहेको थियो । सन् २०१८ मा चिनियाँ २३ प्रतिशतमा झरेको खबर गोरखापत्र दैनिकमा छ । सन् २०१९ मा ३० प्रतिशतभन्दा धेरै आएको सुवेदीको भनाइ छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार ०६:३१