१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

संकुचन हुँदै वाणिज्य बैंकहरूको नाफा

१८ माघ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरूलाई गाभिनका लागि सुझाव दिँदै गर्दा यसको व्यवहारिक महत्त्व पनि खड्किन थालेको बताएका छन् । चालू आवमा वाणिज्य बैंकहरूको नाफामा संकुचन आउने देखिएपछि यसको व्यवहारिक आवश्यकता महसुस हुन थालेको छ ।

सार्वजनिक कार्यक्रममा अर्थमन्त्री खतिवडाले घराना मिल्ने तथा एकै प्रकृतिका कारोबार संस्थालाई एकापसमा गाभिन पुनः सुझाव मात्रै दिएनन् बैंक तथा वित्तीय संस्थाको सङ्ख्या कम गर्दै गुणात्मक सेवा विस्तार गर्नु जरुरी रहेको भन्दै सबल र समृद्ध बैङ्किङका लागि आपसमा मिल्न पनि आग्रह गरेका छन् ।

यद्यपि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७६ मङ्सिर मसान्तसम्म कुल १८१ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएकोमा १३८ संस्थाको इजाजत खारेज भई कुल ४३ संस्था मात्र कायम रहेको खबर गोरखापत्र दैनिकमा छ ।

पुस मसान्तको समाप्तिसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरू दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नेतर्फ केन्द्रित छन् । हालसम्म ८ वाणिज्य बैंकहरूले वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । बैंकहरूको नियामक निकाय नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार त्रैमास सकिएको एक महिनाभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भए पनि माघ तेस्रो साता पुग्नै लाग्दा आठवटाले सार्वजनिक गरेका हुन् ।

अहिलेसम्म एनआईसी एसिया बैंक, नेपाल बैंक लि., एभरेस्ट बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक र लक्ष्मी बैंकले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सार्वजनिक भएको वित्तीय विवरणका अनुसार दोस्रो त्रैमासमा एनआईसी एसिया, लक्ष्मी बैंक, सनराइज बैंकले राम्रो नाफा गरेका छन् ।

एनआईसी एसियाले ३३, लक्ष्मी बैंकले २४.७६, सनराइजले १९, सानिमाले १७ र एभरेस्ट बैंकले साढे पाँच % नाफा बढाएका हुन् भने सिटिजन्स, सिद्धार्थ र नेपाल बैंकको नाफा घटेको छ । यसअघिको पहिलो त्रैमासमा पनि बैंकहरूले नाफा घटाएका थिए भने दोस्रो त्रैमासमा पनि बैंकहरूको नाफामा क्रमशः संकुचन आउँदै गइरहेको देखिएको छ । कतिपय बैंकहरूले खुद ब्याज आम्दानी घटाएकाले पनि नाफामा गिरावट आएको देखिएको छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार ०६:२४