१५ जेष्ठ २०८१, मंगलवार | Tue May 28 2024

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे


१७ माघ, कास्की । अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने पर्यटक बढेका छन् । सन् २०१९ मा पदमार्गमा यात्रा गर्ने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको भन्दा ९०६ जनाले बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का सूचना अधिकारी ऋषि बरालले जानकारी दिए ।

उनका अनुसार सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले पदमार्गमा यात्रा गरेका छन् । त्यस्तै सन् २०१८ मा एक लाख ८० हजार ९४ जना पर्यटकले पदमार्गको भ्रमण गरेका थिए । पदमार्गको भ्रमण गर्नेमा सार्क राष्ट्रका ४६ हजार ९९० र अन्य देशका एक लाख ३३ हजार १०३ जना रहेका बराललाई उद्धृत गर्दै गोरखापत्र दैनिकले समाचारमा जनाएको छ ।

सार्क राष्ट्रमध्ये भारतका बढी र सार्कबाहेक अन्य देशमा चीन, फ्रान्स, जर्मन, बेलायत, कोरिया, अस्ट्रेलिया, मलेसिया, अमेरिका, क्यानाडालगायत देशका पर्यटक बढी छन् । विशेषगरी पदमार्गमा भदौको अन्तिम सातादेखि मंसिर पहिलो सातासम्म पर्यटकको चाप बढी हुने गर्छ । पदमार्गको मुख्य केन्द्र मानिएको अन्नपूर्ण आधार शिविर कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा छ ।

पदमार्गमा जाने एक तिहाइभन्दा बढी आधार शिविरसम्म पुग्ने गर्छन् । गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले पदमार्गको भम्रण गर्ने कुल विदेशीमध्ये करिब ५० हजारको हाराहारीमा आधार शिविर पुग्ने गरेको बताए ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार ०६:३५