१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नियमविपरीत ओगटेका व्यापारीले स्टल छाडेनन्

१७ माघ, काठमाडौं । देशकै ठूलो कालीमाटी फलफूल तथा तरकारी बजारका स्टल नियमविपरीत ओगटेर बसेका व्यापारीलाई कारबाही गर्न नसक्दा लाखौँ रुपैयाँ नोक्सान भएको छ । साथै अराजक अवस्थालाई प्रोत्साहन पनि भइरहेको छ ।

कालीमाटी तरकारी तथा फलफूल विकास समितिले २०७५ साल असोज २ गते हटाउने भनिएका ३१ व्यापारीले अहिलेसम्म अदालतको मुद्दा देखाउँदै स्टल ओगटेर भाडा नै नतिरी व्यापार गर्दै आएका छन् । समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले ३१ स्टलका व्यापारीले बजारको नियमविपरीत व्यापार सञ्चालन गरिरहेको स्वीकारे ।  ‘हामीले बारम्बार हट्नका लागि सूचना निकालेका छौँ, तै पनि उनीहरू अटेर गरेर बसिरहेका छन्,’ निर्देशक पौडेलले भने । उनका अनुसार समितिले एक महिने, १५ दिने र सात दिने गरेर तीन-चारपटक सूचना निकाल्नुका साथै, स्टलैपिच्छे पत्र काट्ने समेत काम गरेका छौँ, यति गर्दा पनि व्यापारीले बेवास्ता गर्दै हट्न मानेका छैनन् ।

‘व्यापारीलाई स्टल हटाउन निर्देशन दिएपछि हामीले भाडा लिएका छैनौँ,’ निर्देशक पौडेलले भन्नुभयो, ‘व्यापारीले अटेर गरिदिँदा हामीलाई महिनाको करिब साढे दुई लाख घाटा लागेको छ ।’ समितिका अनुसार प्रतिस्टल भाडा न्यूनतम १२ हजारदेखि बढीमा २० हजार रुपैयाँसम्म लिने गरिएको छ । ती स्टलका व्यापारीले २०७५ असोज २ देखि भाडा तिरेका छैनन् ।

यी स्टललाई हटाउन स्टल वितरणको कार्यविधि बनेर कार्यान्वयनको तयारीमा छ तर बोर्ड बस्न नसकेका कारण कार्यान्वयन हुन नसकेको खबर गोरखापत्र दैनिकमा छ । पौडेलले भने, ‘कार्यविधि कार्यान्वयनका लागि बोर्ड बैठकबाट स्वीकृति हुनुपर्छ, बोर्डको अध्यक्ष नै नभएकाले बैठक बस्न सकेको छैन, अध्यक्ष नियुक्ति हुनेबित्तिकै कार्यविधि कार्यान्वयनको निर्णय हुन्छ ।’

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार ०६:२१