११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

कुख्यात गुण्डा नाइके मनोज पुनसहित दुई जना प्रहरी इन्काउन्टरमा मारिए

९ फागुन, रूपन्देही । अापराधिक पृष्ठभूमिका गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ । देवदह नगरपालिका–४ भवानीपुरमा गोली लागेर ढलेका दुवै जनालाई लुम्बिनी अञ्चल अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए ।

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को विशेष सूचनाका आधारमा देवदह–४ भवानीपुरमा प्रहरीले गरेको सर्च अपरेशनमा मोटरसाइकलमा सवार दुई जनासँग प्रहरीको मुठभेड भएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए । प्रहरीले पुनका साथबाट एउटा पेस्तोल पनि बरामद गरेको छ ।

प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजेपछि गोली चलाइएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए । पुनलाई गत वर्ष देवदहमा युवा संघका नेता दुर्गा तिवारीको हत्या गरेको, गत असोजमा काठमाडौँमा निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न भएको र गत पुस २२ गते देवदहमा काठ व्यवसायी वसन्त पौडेलको हत्या गराएको आरोप लगाइएको छ । व्यापारीको हत्या गर्ने र फिरौती असुल्ने धन्दा उनले चलाउँदै आएको अभियोग पनि छ । अभियुक्त पुनलाई पक्राउ गर्न एक वर्ष पहिलेदेखि प्रहरी टोली सक्रिय थियो । सिआइबीले विशेष समूह बनाएर पुनको समूहलाई खोजी गर्दै आएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७४, बुधबार ०६:२४