१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

१५ माघ, पोखरा । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा लिइएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । विमानस्थल तोकिएको समयभन्दा ६ महिनाअगावै सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

अहिलेसम्म उक्त विमानस्थलको दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रन–वे निर्माण भइसकेको छ । विमानस्थलसम्म पुग्ने सडक निर्माण र अन्य टर्मिनल भवनलगायत ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको प्रमुख विनेश मुनकर्मीले बताए । विमानस्थलमा चिनियाँ तथा नेपाली कामदारले काम गरिरहेको खबर गोरखापत्र दैनिकमा छ ।

विमानस्थलमा रन–वे निर्माणको काम सकिएपछि अहिले टर्मिनल भवन, यात्रुका लागि जहाज चढ्ने र ओर्लेन स्थान, ट्याक्सी पार्किङ, वरिपरि नाला निर्माण, ह्याङ्गर निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ ।

विमानस्थल निर्माण छिटो सक्ने नाममा त्यसको गुणस्तरमा कुनै कम्प्रमाइज नहुने निर्माण कम्पनीले जनाएको छ । मासिक चार लाख ६८ हजार यात्रु क्षमताको टर्मिनल भवन निर्माण हुने उक्त विमानस्थलको कुल १४ हजार स्क्वायर मिटरको टर्मिनल भवनमध्ये आठ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि छुट्याइने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा निर्माण हुन लागेको विमानस्थलमा बोइङ ७५७, एयरबस ३२० वा सो सरहका विमानले उडान गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि हवाई रुटको समस्या भएकाले विमानस्थल निर्माणपछि कुन रुटबाट विमान आउजाउ गर्ने भन्ने अन्योल भए पनि त्यसबारे निर्णय हुने प्राधिकरणले जनाएको छ ।

झन्डै २२ अर्ब चिनियाँ ऋण सहयोगमा निर्माण हुन लागेको विमानस्थल अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्ने १६० सिट क्षमताका ‘फोरडी’ विमान अवतरण गर्न सक्ने गरी काम भइरहेको छ । सन् २०२१ जुलाई १० भित्र सम्पन्न गर्ने गरी चिनियाँ निर्माण कम्पनी सीएमसीसँग सम्झौता गरिएकोमा सन् २०२० डिसेम्बरमै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको पोखरा विमानस्थल आयोजनाका प्रमुख मुनकर्मीले जानकारी दिए ।

गौतमबुद्धमा ९० प्रतिशत उपकरण जडान
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण जडानको काम करिब ९० प्रतिशत सकिएको छ । केही उपकरण आउन बाँकी रहेको र ती आइसकेपछि जडानको काम सकिने विमानस्थल निर्माण आयोजनाले जनाएको छ ।

”समग्रमा ८६ प्रतिशत काम सकिएको छ, ठेकेदार कम्पनीले रकम भुक्तानीमा ढिलाइ गर्दा सबै उपकरण आउन समय लागेको हो तर अब केही उपकरण मात्र आउन बाँकी रहेकाले डेढ–दुई महिनाभित्रै सबै काम सकिसक्छौँ,” आयोजना प्रमुख प्रवेश अधिकारीले भने । चिनियाँ निर्माण कम्पनी नर्थ बेस्ट सिभिल एभिएसन कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ ।

कार पार्किङको फिनिसिङको काम पनि अन्तिम चरणमा पुगेको छ । डिसेम्बर २०१७ सम्म २७ प्रतिशतको निर्माण प्रगति रहेको यो आयोजनामा पछि सन् २०१९ जुन २८ देखि दोस्रो म्याद थप गरिएको थियो । त्यसपछि सन् २०१९ डिसेम्बर ३० सम्म तेस्रो म्याद थप गरिएको थियो । अहिले २०२० मार्च सम्मका लागि म्याद थप गरिएको छ । ”सम्भवतः यो अन्तिम म्याद हो, मार्चसम्म विमानस्थल निर्माण सकिन्छ,” अधिकारीले भने ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार ०६:३४