११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

कोरोना सङ्क्रमण रोक्न यस्तो गृहकार्य !

१५ माघ, काठमाडौं । चीनको उहानमा सुरु भएको नोबेल कोरोना भाइरसको सङ्क्रमणका बिरामी नेपालमा पनि भेटिएको पुष्टि भएपछि नियन्त्रणका लागि सरकारले गृहकार्य तीव्र बनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियन्त्रणका लागि गृहकार्य अगाडि बढाएको हो ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘‘अन्यत्र भाइरस नफैलियोस् भन्ने उद्देश्यले काम तीव्र पारिएको छ ।’’ मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ  । बाहिरबाट आउने यात्रुलाई ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखियो भने सीधै विमानस्थलबाट अस्पताल पुर्‍याइने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनले नेपालमा एकजनाबाहेक अन्यलाई कोरोना भाइरस नदेखिएको जानकारी दिए । ”चारजनाको परीक्षण गरिएकोमा तीनजनाको ‘रिपोर्ट नेगेटिभ’ आएको छ,” प्रवक्ता श्रेष्ठले भने, “अन्यत्र नफैलियोस् भनेर गम्भीरता साथ काम गरिरहेका छौँ ।”

चीनमा कोरोना भाइरसका कारण १०६ जनाको मृत्यु भइसकेको छ । उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको नमुना परीक्षण गर्नसमेत थालिएको जानकारी दिएको खबर गोरखापत्र दैनिकमा छ । यसअघि नेपालमा आवश्यक केमिकल नहुँदा कोरोना भाइरसको आशङ्कामा परीक्षण गर्न हङ्कङ पठाइएको थियो । हङ्कङ पठाइएको व्यक्तिको नमुना कोरोना भाइरस पुष्टि भएको थियो ।

मानवमा पहिलोपटक
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस पशुहरूबाट मानिसमा प्रसार भई मानिसबाट मानिसमा सर्ने गर्छ । प्रवक्ता श्रेष्ठले चीनमा नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस भएको भन्दै मानव जातिमा भने पहिलोपटक चीनको उहान प्रान्तमा देखिएको बताए । उनले कोरोना भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारका तीव्र स्वासप्रश्वास सङ्क्रमणसम्म गराउन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताए । चीनमा पहिलोपटक देखिएको भाइरस अहिले १९ देशमा देखापरिसकेको छ ।

के हो कोरोना भाइरस ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना एक भाइरसको समूह हो । जुन भाइरसले मानिसको श्वास प्रश्वासमा असर गर्छ । कोरोनाले सामान्य रुघाखोकीदेखि निमोनिया गराउने र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई मृत्युसम्म पुर्‍याउँछ । यो पशुबाट मानिसमा सर्छ ।

कोरोनाका लक्षण
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कोरोना भाइरसमा ज्वरो आउने, श्वासप्रस्वासमा अत्यधिक समस्या हुने, रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने हुन्छ । कोरोना भाइरस प्रभावित क्षेत्र तथा देशबाट आउने व्यक्तिमा दुई साताभित्र रुघाखोकी लागेमा चिकित्सकको सल्लाह लिनुपर्ने उनको भनाइ छ ।

उनले भाइरस लाग्न नदिन नियमित रूपमा साबुन पानीले हात धुने, मास्क लगाएर हिँड्ने, गाडीमा यात्रा गर्दा सतर्कता अपनाउनुपर्ने बताए । यस्तै खोक्दा र हाच्छ्युँ गर्दा नाक र मुख छोप्ने, फ्लु जस्तो लक्षण देखिएमा अस्पताल जान सुझाए । जंगली तथा घरेलु पशुपक्षीबाट टाढा रहनुपर्ने उनको सुझाव छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार ०६:१२