१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

इन्टरनेशनल ‘लाङटाङ म्याराथन–२०१८’ मे १९ मा, सहभागिताका लागि नाम दर्ता खुला


२५ वैशाख, काठमाडौँ । तेस्रो टान इन्टरनेशनल ‘लाङटाङ म्याराथन–२०१८’ को दर्ता खुला भएको छ । ट्रेकिङ एजेन्सी एसोशियसन अफ नेपाल (टान)को आयोजनामा यही मे १९ मा प्रतियोगिता हुने निश्चित भएपछि दर्ता खुलाइएको कोषध्यक्ष रामकृष्ण तिमल्सिनाले जानकारी दिए । तिमल्सिनाका अनुसार ‘लाङटाङ म्याराथन–२०१८’ मा सहभागी हुन चाहने विदेशीले ७५ डलर तिरेर सहभागिता सुनिश्चित गर्न सक्नेछन भने नेपालीले २५ सय रुपैयाँ तिरेर सहभागिता सुनिश्चित गर्न सक्नेछन । नाम दर्ताका लागि टानको कार्यालय, टिम्सको काउन्टर वा धुन्चेमा रहेको कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको टानका मिडिया संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । उनले प्रथम हुनेलाई एक लाख पाँच हजार, द्धितिय हुनेलाई ७८ हजार ७ सय पचास र तृतिय हुनेलाई ५२ हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी दिए ।

नेपाल पर्यटन बोर्डले प्रवर्द्धन सहयोग गरेको प्रतियोगिताले विश्वमा लाङटाङ सुरक्षित छ भन्ने सन्देश दिन खोजिएको प्रतियोगिता संयोजक ऋतु लामाले बताइन । उनले भनिन् ‘भूकम्पका कारण लाङटाङको केही क्षेत्रमा क्षति भयो तर लाङटाङ पुरै असुरक्षित छ भन्ने खालको सन्देश बाहिरिएको भन्दै उक्त भ्रमपूर्ण सन्देश चिर्नका लागि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार १०:५३