१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

अब मोबाइलबाटै भन्सार जाँचपास

१३ माघ, काठमाडौं । भन्सार जाँचपास प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित मोबाइलबाटै जाँचपास गर्न सकिने सुविधा थप गरिएको छ । भन्सार विन्दुका तोकिएका कर्मचारीले प्रयोग गर्न पाउने गरी मोबाइल एपमार्फत नै जाँचपास प्रक्रिया पूरा गर्न सकिने व्यवस्था भन्सार विभागले थालेको हो ।

६८औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित औपचारिक कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले सोही एप्स सार्वजनिक गरेका छन् । ‘आसिकुडा मोबाइल क्लाइन्ट’ नाम दिइएको उक्त एप एन्ड्रोइड अपरेटिङ सिस्टममा मात्र उपलब्ध छ । यो एप सर्वसाधारणले भने प्रयोग गर्न पाउने छैनन् । भन्सार अधिकृतले भन्सार परिसरमा मात्र यो एप्स प्रयोग गरेर जाँचपास गर्न सकिने सुविधा यसमा उपलब्ध छ ।

कम्प्युटरबाट मात्रै जाँचपास गर्नुपर्ने बाध्यतालाई यो एपले हटाउने विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । भन्सार परिसरमा जहाँबाट पनि यो एप प्रयोग गरेर सजिलै जाँचपास गर्न सक्ने सुविधा थपिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार ०६:३६