१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

मोदीका नाममा पदयात्रामाथिको प्रतिबन्ध गलतः टान


२५ वैशाख, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीको वैशाख २८ को भ्रमणको कारण देखाई पदयात्रामा प्रतिवबन्ध लगाएकोमा ट्रेकिङ एजेन्सी एसोसियसन आफ नेपाल (टान)ले आपत्ति जनाएको छ । टानका अध्यक्ष नवराज दाहालले दैनिकीसँग कुरा गर्दै पर्यटन क्षेत्रमा दीर्घकालीन रुपमा नकारात्मक प्रभाव पार्ने गरी सरकारले प्रतिवन्धको निर्णय लिनु दुखद् भएको प्रतिक्रिया दिए ।

उनले भने ‘हामीले पर्यटन मन्त्रालयसँग यस्तो अवस्था आउँछ भनेर पहिल्यै जानकारी मागेका थियौँ तर उहाँहरुले पदयात्रामा प्रतिबन्ध नलाग्ने जनाउनु भएको थियो, हिजो जिल्ला प्रशासन कार्यालय मुस्ताङका नाममा प्रतिबन्धको सूचना जारी भएको रहेछ, यसबाट पुरै पर्यटन क्षेत्र स्तब्ध भएको छ ।’ दुई घण्टाको मोदीको भ्रमणका लागि दुई दिनसम्म पर्यटकहरुको पदयात्रा माथि प्रतिबन्ध लगाउनु गलत रहेको भन्दै अध्यक्ष दाहालले यस्तो निर्णय सच्याउन सरकारसँग आग्रह गरे ।

उनले यस्ता निर्णयले पर्यटन क्षेत्रमा दीर्घकालीन असर गर्ने भन्दै पर्यटक नै अलपत्र पर्ने अवस्था रहेको बताए । उनले भने ‘पर्यटकको फिक्स सेड्युल हुन्छ, जाने टिकटसमेत पहिल्यै फिक्स हुन्छ त्यहाँ थप दुई दिन उनीहरु रोकिन सक्दैनन् र अर्को कुरा तलतिरै रोकेर राख्दा मौसम प्रतिकुल भएर दुर्घटनाको जोखिम बढ्न सक्छ त्यसकार सरकारले यस्ता निर्णय फिर्ता लिनुपर्छ ।’

यता नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले भने दुई दिनको प्रतिबन्धले केही पर्यटक प्रभावित बनेपनि सकारात्मक प्रभाव र प्रचार हुने प्रतिक्रिया दिए । अध्यक्ष पाण्डेले दैनिकीसँग कुरा गर्दै भने ‘विश्वका चिर्चित नेता नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन गर्दा धार्मिक पर्यटनमा टेवा पुग्छ, यसलाई विश्व बजारमा मुक्तिनाथको अझै बढी प्रचारसमेत हुन्छ । त्यसकारण म यसलाई सकारात्मक मान्छु ।’

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार ०८:५४