१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

चार स्मार्ट सिटीको डीपीआर तयार

१० माघ, काठमाडौं । काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ इशान’ र ‘काठमाडौँ आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ नैऋत्य’, काठमाडौँको उत्तरी क्षेत्रमा प्रस्ताव गरिएको स्मार्ट सिटी ‘काठमाडौँ उत्तर’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको हो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले प्रस्तावित चारवटै स्मार्ट सिटीको ‘डीपीआर’ भइसकेको जानकारी दिए । तिवारीले सहरी विकासमन्त्री गोकुलप्रसाद बास्कोटासमक्ष मङ्गलबार ‘डीपीआर’बारे प्रस्तुतीकरण गरे । उनका अनुसार प्रस्तुतिपछि मन्त्री बास्कोटाबाट स्मार्ट सिटी आयोजनालाई तीव्र बनाउन निर्देशन दिएको खबर गोरखापत्र दैनिकमा छ ।

‘अब ‘डीपीआर’लाई सहरी विकास मन्त्रीको अध्यक्षतामा रहेको भौतिक विकास समितिमा पेस गरिनेछ, त्यहाँबाट अनुमोदन भइसकेपछि डीपीआर पुनः सहरी मन्त्रालयमा आउँछ र अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिनेछ,’ तिवारीले भने ।

भौतिक विकास समिति सदस्यमा राष्ट्रिय योजना आयोगका सचिव, बाग्मती प्रदेशका भौतिकमन्त्री र विभिन्न ११ संघीय मन्त्रालयका सचिव, काठमाडौँ, ललितपुर र भक्तपुर महानगरपालिकाका नगरप्रमु्ख तथा काठमाडौँ उपत्यकाका अन्य नगरपालिका मध्येबाट सहरी मन्त्रालयले तोकेका तीनवटा नगरपालिकाका नगरप्रमुख छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख यो समितिका सदस्यसचिव छन् ।

प्राधिकरण प्रमुख तिवारीले मन्त्रिपरिषद्को स्वीकृति भएमा चालू आर्थिक वर्ष भित्रमा नै यस आयोजनाका लागि आर्थिक स्रोतको सुनिश्चित गर्ने बताए । सरकारले जमानी बसेको अवस्थामा यो स्मार्ट सिटी निर्माण गर्न चिनियाँ, कोरियन र अमेरिकन कम्पनी लगानी गर्न तयार रहेको उनले जानकारी दिए ।

के हो स्मार्ट सिटी ?
व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक सहरलाई स्मार्ट सिटी भन्ने गरिएको छ । नागरिकको जीवनस्तर तथा सहरको अर्थतन्त्रमा सुधार ‘स्मार्ट सिटी’ को प्रमुख लक्ष्य हुने गर्छ । त्यसैगरी, प्रविधि साक्षर जनसङ्ख्या, प्रविधिसँग जोडिएका व्यवसाय गर्न प्रोत्साहन गर्ने अर्थव्यवस्था, सफा तथा वातावरणमैत्री सर्वशुलभ यातायात साधनको व्यवस्था, नवीकरणीय ऊर्जा प्रयोग, प्रविधियुक्त स्वास्थ्य सेवाको विकास स्मार्ट सिटीका प्रमुख विशेषता हुन् ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार ०६:४९