१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएपछि गाउँ शोकमग्न


२४ वैशाख, खोटाङ । एउटै गाउँका तीन बालबालिका नदीमा डुबेर बेपत्ता भएपछि खोटेहाङ गाउँपालिका–२ सुन्तलेस्थित धाप्लाङघाट गाउँ शोकमग्न भएको छ ।

स्थानीय धननारायण श्रेष्ठको १२ वर्षीय छोरा सुमन, जीवन माझीको १० वर्षीय छोरा समिन र धु्रव माझीको ११ वर्षीया छोरी अनिता माझी गत शनिबार दिउँसोदेखि सुनकोशी नदीमा डुबेर बेपत्ता भएका हुन् ।

विद्यालय जाने बालबालिका शनिबार बिदाको दिन बाख्रा चराउन गएका र नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । १२ बजेको समयमा नदीमा पौडी खेल्दै गर्दा एक बालक नदीमा डुबेपछि बचाउन खोज्दा अर्को बालक पनि डुबेको र दोस्रो बालकलाई बचाउन खोज्दा तीनैजना बेपत्ता बनेका रहेछन् । उनीहरुको खोजीका लागि चिसापानी इलाका प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको छ ।

चार बालबालिका बाख्रा चराउन गएकामा तीनजना बेपत्ता बनेपछि अर्को बालकले घरमा खबर पु¥याएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिए ।
घटनास्थलमा खटिएका प्रहरी र स्थानीयवासीले अहिले नदी किनार र आसपासमा बेपत्ता बालबालिकाको खोजी कार्यलाई तीव्रता दिएका छन् । सुनकोशी किनारमा पर्ने जंगलमा बाख्रा चराउन गएका तीन बालबालिका गर्मी भएपछि पौडी खेल्न नदीमा पसेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार १३:५७