१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

पक्राउ परेका यातायात व्यवसायी सिडिकेटविरुद्धको कागजमा हस्ताक्षर गर्दै छुटे


२४ वैशाख, काठमाडौँ । देशमा स्थायी सरकार सुरु भएकोमा जनताले पहिलो उपहारका रुपमा सिन्डिकेटविहिन सार्वजनिक यातायात पाउने भएका छन्। सिन्डिकेट कायम राख्न व्यवसायीहरु हडतालमा उत्रिएपनि सरकार आक्रामक बनेपछि उनीहरु निरिह बन्दै आन्दोलन फिर्ता लिएका छन्।

पक्राउ परेका अध्यक्ष योगेन्द्र कर्माचार्यसहितका यातायात व्यवसायी राष्ट्रिय महासंघका अधिकारीहरु सिन्डिकेटविरुद्धको अभियानमा साथ दिने भन्दै कागज गरेर छुटेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा कागज गरेर उनीहरु छुटेका हुन्। अबदेखि आन्दोलन गरेर जस्तो सुकै सजाय भोग्न पनि तयार रहेको उनीहरुले बताएका छन्। यातायात सेवा रोकेमा उनीहरुले माफि समेत मागेका छन्।

शुक्रबार यातायात व्यवसायीहरु देशभर गाडी ग्यारेजमा थन्क्याएर आन्दोलन गरेका थिए। त्यसपछि गृह मन्त्रालयले व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएको थियो। अध्यक्ष कर्माचार्य, महासचिव सरोज सिटौला लगायत अधिकारी काठमाडौंमा पक्राउ परेका थिए।

पक्राउ परेका अध्यक्षसहित केन्द्रीय पदाधिकारीहरु नै कागज गरेर रिहा हुन तयार भएपछि देशभरबाट पक्राउ परेका अन्य व्यवसायी पनि कागज गरेर छुटेका छन्। केही व्यवसायी शनिबार नै छुटिसकेका छन्।

समितिहरु खारेज गर्ने तथा देशभर रुट परमिट खुला गरेको विरोधमा व्यवसायीहरु आन्दोलनमा उत्रेका थिए। २७ गतेदेखि गाडी अनिश्चितकालीन रुपमा थन्क्याउने योजनामा रहेका व्यवसायी विरुद्ध सरकार आक्रामक बनेपछि उनीहरु निरीह बनेका हुन्। छलफलपछि उनीहरु सबै आन्दोलन फिर्ता लिई सरकारले थालेको सिन्डिकेट विरुद्ध अभियानमा साथ दिन तयार भएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए।

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार ०९:२५