१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

भीमफेदी–कुलेखानी सुरुङमार्ग प्रदेश सरकारले बनाउने

५ माघ, काठमाडौं । काठमाडौँ–हेटौँडा जोड्ने खण्डमा प्रस्तावित भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न बाग्मती प्रदेश सरकारले अग्रसरता देखाएको छ । प्रदेश सरकारले अहिले सो सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको काम गरिरहेको छ ।

सुरुङमार्ग निर्माणका लागि यसै वर्ष नै ठेक्का दिने तयारी गरिरहेको छ । सुरुङमार्ग निर्माणको अनुमति पाएको निजी क्षेत्रका नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल) ले अहिलेसम्म सिन्कोसमेत भाँच्न नसक्दा प्रदेश सरकारले अग्रसरता देखाएको खबर गोरखापत्र दैनिकमा छ ।

२०६९ मा सुरुङमार्गको शिलान्यास गरिएको थियो । अहिलेसम्म सो कम्पनीले सुरुङमार्ग निर्माणको आर्थिक स्रोतको आधार नै पेस गर्न सकेको छैन । नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग निर्माण गर्ने गरी २०६९ साल वैशाखमा मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको काम भइरहेको जानकारी दिए । उनले भने, “डीपीआर निर्माणको काम अन्तिम चरणमा छ, चैतसम्म डीपीआरको काम सकिन्छ । डीपीआर सकिनेबित्तिकै निर्माणका लागि ठेक्काको प्रक्रिया अगाडि बढाइन्छ ।” अहिले बोलपत्र आह्वानका लागि तयारी भइरहेको जानकारीसमेत उनले दिए ।

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणलाई प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अगाडि सारेको बताउँदै उनले यो सुरुङमार्ग प्रदेश सरकारको कार्यक्षेत्रमा रहेको हुनाले यसमा कसैको स्वीकृति आवश्यक नपर्ने स्पष्ट पारे । तर नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडलाई सङ्घीय सरकारले दिएको अनुमतिपत्र कानुनी रूपमा अहिलेसम्म खारेज भएको छैन ।

बाग्मती प्रदेशका विकास हेर्ने मन्त्री कैलाश ढुंगेलले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको बताउँदै अहिले ‘डीपीआर’को काम हुनुका साथै निर्माणका लागि बोलपत्र आह्वान गर्न आवश्यक तयारी भइरहेको जानकारी दिए । उनका अनुसार, ‘डीपीआर’को काम अन्तिम चरणमा छ ।

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणबारे अहिलेसम्म भएका काम कारबाहीबारे आफूले सोधपुछ गरिरहेको बताए । आफूले थाहा पाएसम्म निर्माणको जिम्मा पाएका नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको अनुमतिपत्रको म्याद समाप्त भइसकेको उनले बताए ।

 

प्रकाशित मिति : ५ माघ २०७६, आईतवार ०७:२०