९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026

४ महिलाले थाले व्यावसायिक भैंसीपालन

४ माघ, वालिङ । यहाँका चार महिलाले सामूहिकरुपमा भैंँसीपालन व्यवसाय थाल्नुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ बेलघारीका महिलाले सामूहिकरुपमा व्यावसायिक तवरले भैँसीपालन थाल्नुभएको हो । युवा तथा पुरुषले सामूहिकरुपमा व्यवसाय सञ्चालन गर्ने र महिलाले सहयोगी भएर काम गर्ने परम्परालाई तोड्दै यहाँका महिला सामूहिकरुपमा व्यवसाय उन्मुख भएका हुन् ।

गत कात्तिकमा ‘बौरेनी भैँसी तथा कृषि फर्म’ दर्ता गरी ०७६ पुस १३ गतेदेखि सञ्चालनमा आएको फर्ममा १२ मुर्रा जातका भैँंसी रहेका फर्मकी अध्यक्ष लक्ष्मी थापाले बताउनुभयो । “समूहमा आवद्ध हामी चारै जनाले आ–आफ्नो तरिकाले व्यावसायिकरुपमा तरकारीखेती गर्दै आएका थियौं”, उहाँले भन्नुभयो, “अब आ–आफ्नो तरिकाले मात्रै तरकारीखेती नगरी समूहमार्फत गर्दा लगानी र काम गर्न पनि सहज हुने ठानेर भैंसीपालन गर्ने अठोट गरेका हौं ।”

फर्मबाट दैनिक ११५ लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ भने उत्पादित दूध प्रतिलिटर एक सयका दरले पुतलीबजार तथा फर्मबाटै खपत हुने गरेको फर्मकी सचिव गीता कार्कीले बताउनुभयो । भैँंसीपालन आवश्यकपर्ने घाँसका लागि करीब नौ रोपनी जग्गा भाडामा लिएर आधुनिक घाँस लगाइएको उहाँले बताउनुभयो । फर्ममा चार जनासहित एक कामदार सक्रिय छन् ।

“भौतिक संरचना निर्माण तथा भैँसी खरीदका लागि हालसम्म झण्डै रु ४७ लाख लगानी गरिएको छ”, अध्यक्ष थापाले भन्नुभयो, “अब कम्पाउण्ड निर्माण तथा फर्मलाई व्यवस्थित गर्न अझै लगानी गर्छौं, लगानी अझै बढ्ने देखिन्छ ।” फर्ममा पुतलीबजार– ४ की थापा, कार्की, ज्योति बानियाँ थापा र स्मृति थापा आबद्ध हुनुहुन्छ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार १३:००