१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

तत्काल पेट्रोलियम पदार्थको मूल्य नबढ्ने

४ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बढोत्तरी आए पनि नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राखेको छ । पछिल्लोपटक इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल र पेट्रोलमा केही मूल्य वृद्धि भएर आएको भए पनि सर्वसाधारणको हितलाई मध्यनजर राख्दै मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ बमोजिम प्रत्येक १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको थियो । निगमको स्वर्ण जयन्तीका अवसरमा सर्वसाधारणलाई पेट्रोलियम पदार्थमा केही सहुलियत दिने उद्देश्यले इन्धनको मूल्य समायोजन नगरिएको प्रवक्ता वीरेन्द्र गोइतले बताए । निगमले गत पुस २६ गते स्वर्ण जयन्ती मनाएको थियो ।

आईओसीले हरेक महिनाको १ र १५ तारिखका दिन निगमलाई नयाँ बिक्री मूल्यसूची पठाउँदै आएको छ । सोही मूल्यलाई आधार मानेर निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्यसूची निर्धारण गर्दै आएको छ । निगमले पेट्रोल प्रतिलिटर रु ११०, डिजेल र मट्टीतेल प्रतिलिटर १००, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर १ हजार अमेरिकी डलर र आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर रु ९४.५० तथा एलपी ग्यास प्रतिसिलिन्डर एक हजार ३ सय ५० रुपैयाँ बिक्री मूल्य तोकेको छ ।

अहिलेको बिक्री मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर ३, डिजेलमा ४, हवाई इन्धनमा १० रुपैयाँ नाफा छ भने एलपी ग्यासमा प्रतिसिलिन्डर १ सय ६२ रुपैयाँ घाटा छ । कुनै समय निकै घाटा व्यहोरेर डुब्ने अवस्थामा पुगेको निगमले पछिल्ला वर्ष सुधारमा आएको छ ।

केही वर्षदेखि निगमको नाफा उकालो लाग्न थालेको छ । निगमले आव ०७५/७६ मा करिब ८ अर्ब ७५ करोड (करपछिको) मुनाफा आर्जन गरेको थियो । –रासस

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार ०९:२७