१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

निजगढ विमानस्थल निर्माण गर्न जुरिचसँग मागियो प्रस्ताव

४ माघ, काठमाडौं । स्विट्जरल्यान्डको सबैभन्दा ठूलो विमानस्थल सञ्चालन गरिरहेको जुरिच एयरपोर्ट इन्टरनेसनल एजीलाई बाराको निजगढ विमानस्थल निर्माणसँग सम्बन्धित प्रस्ताव माग गरिएको छ । गत असोज ६ गते बसेको लगानी बोर्ड बैठकले जुरिचलाई छनोट गरेबमोजिम कम्पनीसँग प्रस्ताव माग गरिएको हो ।

बोर्डले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ४५ दिनभित्र विमानस्थल निर्माण र सञ्चालनका विषयमा जुरिचसँग आवश्यक प्रस्ताव खोजेको हो । प्रस्ताव अध्ययनपछि बोर्डले उपयुक्त लागे जुरिचसँग निर्माणको अन्तिम सम्झौता गर्नेछ ।

गत असोजमा लगानी बोर्ड बैठकले निजगढमा विमानस्थल निर्माणका लागि आवेदन दिएका विभिन्न ७ देशका कम्पनीमध्ये जुरिचलाई छनोट गरेको थियो । त्यति बेला सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने निर्णयसहित जुरिच छनोट भएको थियो । बोर्डले गत वर्ष चैत १६ मा सम्पन्न लगानी सम्मेलनका क्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई ‘सोकेस’ परियोजनाको रूपमा प्रस्ताव गरेको थियो । बोर्डले त्यति बेला करिब ३ अर्ब डलरको परियोजनाका रूपमा यसलाई प्रस्तुत गरेको खबर गोरखापत्र दैनिकमा छ ।

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखी निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले त्यसका लागि जुरिचसँग विस्तृत प्रस्ताव माग गरिएको बताए । लगानी बोर्डले शुक्रबार सो प्रस्ताव पठाएको हो ।

बाराको निजगढमा करिब ८० वर्ग किलोमिटर क्षेत्र ओगट्ने गरी प्रस्तुत गरिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना पछिल्लो समय रूख कटानीको विषयले निकै चर्चामा थियो । विमानस्थल निर्माणका क्रममा अत्यधिक रूख काटिने चर्चा भए पनि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले डेढ लाखभन्दा बढी रूख नकाटिने जनाउँदै आएको छ ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको र अत्यधिक क्षमतामा सेवा दिनुपरेको भन्दै देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निजगढमा निर्माण प्रक्रिया अगाडि बढाइएको हो । तीन दशक अघिदेखि सो क्षेत्रमा विमानस्थल निर्माण गर्ने भनिए पनि अहिलेसम्म ठोस उपलब्धि हुन सकेको छैन । यद्यपि विमानस्थल निर्माण क्षेत्रको सीमा निर्धारण, त्यसभित्रका बस्ती व्यवस्थापन, आयोजना कार्यालय स्थापनालगायत काम भइसकेका छन् ।

दुई धावनमार्गसहितको हुने यो विमानस्थल सञ्चालनमा आएपछि वार्षिक करिब २ करोड यात्रुलाई सेवा दिनसक्ने प्राधिकरणले जनाएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वार्षिक ७० लाख यात्रुले हवाई सेवा लिइरहेका छन् । यो क्षमताको करिब ८० प्रतिशत उपयोग हो ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार ०६:४०