८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

शिक्षक र विद्यार्थी दुबै यार्सा टिप्न हिडेँपछि रुकुम पूर्वका विद्यालय एक महिना बन्द

२३ वैशाख, रूकुम । रुकुम पूर्वमा रहेका विद्यालय आजदेखि बन्द भएका छन् । बहुमूल्य यार्सा टिप्न शिक्षक, विद्यार्थी र अभिभावक हिमाली पाटनतर्फ जान थालेपछि यहाँका विद्यालय बन्द हुन थालेका हुन् ।

यार्साको समयमा यहाँका अधिकांश विद्यालय बन्द हुने गर्दछन् । जेठको दोस्रो सातादेखि खुला गरिने यार्सा टिप्न वैशाख दोस्रो सातादेखि नै उनीहरु पाटनतर्फ जान्छन् ।

यो बिदालाई विद्यालयहरुले बर्खे बिदासँग मिलाउने हुँदा विद्यार्थीको पठनपाठन समस्या नहुने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटा बताउनुहुन्छ । “जेठको अन्तिम सातासम्म विद्यालय बन्द हुने जानकारी आएको छ” उहाँले भन्नुभयो ।

यहाँको प्रमुख आयस्रोत मानिने यार्सा टिप्न यहाँका बालबालिका, वृद्धवृद्धा र शिक्षकहरुसमेत पाटनतर्फ जाने गर्छन् । विद्यालय बन्दका बारेमा केही जानकारी नगराएको जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरले जानकारी दिनुभयो । यहाँका विद्यालयले बर्खे बिदासँग यो बिदा मिलाउँदा पढाइमा त्यति समस्या नहुने उहाँको भनाइ छ ।

“अन्य बिदासँग नमिलाएर यसरी आफूखुशी विद्यालय बन्द गरेको भए शिक्षा कार्यालयले कारबाही गथ्र्याे”, जिल्ला शिक्षा अधिकारी कुँवरले भन्नुभयो, “तर उनीहरुले बिदा मिलाउँछन् ।”

यस समयमा यहाँका दर्जन बढी माध्यमिक विद्यालय र त्यत्तिकै आधारभूत विद्यालय बन्द हुने गर्दछन् । एक याममा यहाँका स्थानीयले रु ५० हजारदेखि पाँच लाखभन्दा बढी कमाउने गरेको स्थानी बताउँछन् ।

जिल्लाको पुथा उत्तरगंगाको बुकीमा पाइने यार्सा जेठको दोस्रो सातादेखि संकलन शुरु गरिने भएको छ । यसका लागि यार्सा मौसम व्यवस्थापन समितिले गतेको भने टुंगो लगाउन सकेको छैन । यहाँ बर्षेनी जेठको दोस्रो सातातिर यार्सा संकलनका लागि बुकी खुला गर्ने चलन छ । यसका साथै भुमे र सिस्ने गाउँपालिकाका केही भागमा पनि यार्सा पाइने गर्दछ ।

कर रु दुई हजार ६००

जिल्ला वन कार्यालय रुकुमले यार्सा व्यावसायीबाट रु दुई हजार ६०० कर निर्धारण गरेको छ । नेपाल सरकारको नीतिअनुसार उक्त कर निर्धारण गरिएको जिल्ला वन कार्यालयले जनाएको छ ।
वन कार्यालयमा रु दुई हजार ६०० कर तिरेपछि उनीहरुले यार्साको व्यवसाय गर्न पाउँछन् । आजसम्म जिल्ला वन कार्यालयबाट कसैले अनुमति लिएका छैनन् ।

यार्सा संकलनका लागि भने यार्सा मौसम व्यवस्थापन समितिले रु एक हजार ५०० कर लिने गरेको छ । उक्त रुपैयाँ तिरेपछि यार्सा संकलन गर्न पाइने यार्सा मौसम व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार १९:४४