१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

कृषि अनुदानको दुरुपयोग रोकिन्छ : मन्त्री भुसाल

२ माघ, काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको अनुदानमा भइरहेको दुरुपयोग सरकारले रोक्ने बताएका छन् । धेरै ठाउँबाट कृषि अनुदानको दुरुपयोग भएको कुरा आइरहेकाले यसतर्फ सरकारको ध्यानाकर्षण भएको भन्दै उनले किसानले पाउने अनुदानको दुरुपयोग हुन नदिइने बताए ।

रुपन्देहीको सियारी गाउँपालिकामा बुधबारदेखि सुरु भएको मत्स्य एवं कृषि महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले नेपालको कृषि क्षेत्रलाई आजको आवश्यकता सम्बोधन हुनेगरी आधुनिक ढङ्गले अघि बढाउन सरकारले प्रयत्न गरिरहेको पनि बताएको खबर गोरखापत्र दैनिकमा छ । ‘कृषिको यान्त्रीकरण र आधुनिकीकरण आजको आवश्यकता हो, यान्त्रीकरणबिना कृषि उत्पादन बढ्न सक्दैन,’ उनले भने, ‘किसानलाई व्यावसायिक बनाउन यान्त्रीकरणको विकल्प छैन ।’

उनले बीउबिजनसम्बन्धी राष्ट्रिय नीति र गतिविधिलाई सङ्घीय ढाँचाअनुरूप बनाउन आवश्यक सबै खालका कानुन संशोधन गर्ने पनि बताए । बीउ-बिजनसम्बन्धी हाम्रा नीति र गतिविधि संघीय ढाँचाअनुरूप बनाउनुपर्नेछ ।

रुपन्देहीका ४ गाउँपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोनको आयोजनामा रुपन्देहीको सियारी गाउँपालिका प्रथम माछा महोत्सव आयोजना गरिएको हो । ५ दिन चल्ने महोत्सवमा मत्स्यसम्बन्धी ३६ स्टल राखिएका छन् ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार ०६:४८