१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

काठमाडौंमा १० करोडको तरुल

१ माघ, काठमाडौं आज माघेसङ्क्रान्ति अत्यधिक तरुल खपत हुने दिन । यसका लागि काठमाडौँका बजारमा सिमल तरुल, हात्तीपाइले तरुल, घर तरुल, वन तरुल, सिमल तरुल र पानी तरुल भित्रिएको छ ।

देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल किनबेच गर्नेको भीड लागेको छ । माघेसङ्क्रान्तिकै अवसर पारेर अत्यधिक बिक्री हुने गरेकाले नेपालमा तरुलको व्यावसायिक खेती पनि सुरु भइसकेको छ ।

तरुल गत वर्षभन्दा थोकमै ३१ प्रतिशत महँगो
यो वर्ष माघेसङ्क्रान्तिका लागि काठमाडौँ उपत्यकामा भित्रिएको तरुल गत वर्षको तुलनामा ३१ प्रतिशतसम्म महँगिएको छ । उपत्यकाको बजारमा मागभन्दा कम तरुल भित्रिएपछि भाउ महँगिएको खबर गोरखापत्र दैनिकमा छ । कालीमाटी फलफूल तथा तरकारी बजार बजार व्यवस्थापन समितिका अनुसार गत वर्षको सङ्क्रान्तिमा प्रतिकेजी ४२ देखि १०० रुपैयाँ थोकमा कारोबार भएको तरुल यस वर्ष बढेर ५५ देखि १५० रुपैयाँ पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका वरिष्ठ योजना अधिकृत विनय श्रेष्ठले यो वर्ष तरुलको आयात बढेसँगै माग पनि बढेकाले बजारमा यसको मूल्य पनि बढेको जानकारी दिए ।

उनका अनुसार गत वर्ष माघेसङ्क्रान्तिका लागि एक हजार टन तरुल भित्रिएकोमा यसपटक भने झन्डै एक हजार ५०० टनको हारहारीमा तरुल भित्रिएको छ ।

समितिका अनुसार सामान्य तरुल ५५ रुपैयाँ, वन तरुल १२० रुपैयाँ हात्तीपाइले तरुल १२० रुपैयाँ र सिमल तरुल प्रतिकेजी १५० रुपैयाँ थोकमा कारोबार भइरहेको छ ।

समितिका अनुसार माघेसङ्क्रान्तिका लागि काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै सर्लाहीबाट तरुल भित्रिएको छ भने नवलपरासी, धादिङ, नुवाकोट, काभ्रेलगायत जिल्लाबाट पनि तरुल आयात भएको छ । यस वर्षको माघेसङ्क्रान्तिलाई लक्षित गरेर पिँडालु १३० टन, सख्खरखण्ड १५० टन भित्रिएको छ ।

बर्सेनि १० करोडको कारोबार
नेपालमा माघेसङ्क्रान्तिको आसपासमा बर्सेनि झन्डै १० करोड रुपैयाँको तरुलको कारोबार हुने गरेको व्यवसायीले बताएका छन् । माघेसङ्क्रान्तिमा धेरै खपत हुने भएकाले यो चाडलाई लक्षित गरी १० करोडको तरुलको कारोबार हुने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

नेपालमा माग हुनेमध्ये धेरै तरुल नेपालमै उत्पादन हुने गरेको छ भने केही भारतबाट आयात हुने गरेको छ । काठमाडौँमा तरुलको कारोबार बढे पनि पिँडालु र सख्खरखण्डको कारोबार भने खासै घटबढ भएको छैन । समितिका पुसभरमा कालीमाटीमा १७२ टन पिँडालु र २४२ टन सखरखण्ड भित्रिएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार ०८:०३