३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

रोजगारीका लागि नेपाली विदेश जानु नपर्नेः वन मन्त्री

२३ वैशाख, बर्दिया । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधान पूर्णरुपमा कार्यान्वयन भयो भने रोजगारका लागि कोही पनि विदेश जान नपर्ने बताएका छन् ।

बर्दियाको कृष्णसार संरक्षण क्षेत्रले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको संविधान कार्यान्वयनका लागि स्थिर सरकार बनेकाले अबका केही दिनमा युवालाई स्वदेशमै रोजगारी सिर्जना गरिने बताए ।

व्यवस्था परिवर्तन भएजस्तै नेपाली जनतामा पनि परिवर्तन हुनुपर्नेमा जोड दिंदै मन्त्री बस्नेतले नेपालको संविधानमा अधिकारका सम्पूर्ण कुरा समेटिएकाले संविधान कार्यान्वयन गर्नुको कुनै विकल्प नरहेको बताए ।
मन्त्री बस्नेतले कृष्णसार संरक्षणका लागि रणनीति तथा कार्ययोजना बनाएर काम गर्न संरक्षणकर्मीलाई सुझाव दिँदै जनतालाई संरक्षणप्रति अपनत्व महसुस गराउनु पर्ने सुझाब दिए ।

कार्यक्रममा सहभागी तथा स्थानीयवासीले कृष्णसार संरक्षण क्षेत्रभित्रका बस्ती व्यवस्थापन गरी संरक्षणका लागि बलियो पर्खाल र बाढी मुक्त क्षेत्र बनाउन मागसमेत गरेका छन् ।

कृष्णसार संरक्षित क्षेत्र गुलरिया नगरपालिकाको वडा नं १, २, ३ र ४ को क्षेत्रमा कूल १६.९५ वर्ग किलो मिटरमा फैलिएको र कृष्णसारको वासस्थान ५.२७ वर्ग किलोमिटरमा मात्र बसोबास रहेको छ । संरक्षित क्षेत्रमा हाल भाले ५८ पोथी १३० र बच्चा २० गरी २०८ वटा कृष्णसार छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार १६:५९