२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

त्रिवि सभा (सिनेट) विथोल्ने आंशिक प्राध्यापकहरुको निर्णय, सहयोगका लागि अपिल


२२ वैशाख, काठमाडौँ । आंशिक प्राध्यापकहरुले भोलि आयोजना हुन लागेको त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) औचित्यहीन भएको भन्दै बिथोल्ने निर्णय गरेका छन् । नेपाल आंशिक प्राध्यापक संघले आव्हान गरेको असहयोग आन्दोलनलाई थप सशक्त पार्न गत बैशाख १६ गतेदेखि कक्षा बहिष्कार गरिरहेका प्राध्यापकहरू सिनेट बिथोल्ने गरी आन्दोलनलाई चर्काउन काठमाडौंको कीर्तिपुरमा जम्मा हुने क्रम जारी राखेका छन ।

शनिबार बिहान सम्पन्न संघको विस्तारित बैठकले विगतका सम्झौताहरू कार्यान्वयन गर्ने भरपर्दो आधार नदेखिएको हँुदा जारी आन्दोलनलाई निर्णायक बनाउने निर्णय गरेको छ । यसअघि देउवा सरकारले १४२० दरबन्दीमार्फत् आंशिक प्राध्यापकलाई करार गर्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र अर्थ मन्त्रालयको कर्मचारी संयन्त्र त्यसलाई कार्यान्वयन नगराउन लागिपरेको संघले ठहर गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका ७० प्रतिशत कक्षा भार लिइरहेका आंशिक प्राध्यापकहरूले अब न्युन दैनिक ज्यालादारीमा आंशिकको रूपमा कक्षामा नफर्किने सङ्कल्प पनि गरेका छन् । उनीहरूले आफ्नो माग स्वतः स्थायी नभई समान ज्यालाको लागि भएको भन्दै साथ र समर्थनको लागि मानवअधिकारबादी तथा नागरिक समाजलाई अपील पनि गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार २१:४७