१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

जापानलाई चाहियो २३ सय नेपाली केयरगिभर, यस्ता चाहिन्छ योग्यता

२१ पुस, काठमाडौं नेपालीका लागि जापान आकर्षक गन्तव्य हो । वैदेशिक रोजगारका लागि त झन् जापान आकर्षण मानिन्छ । जापानमा दोस्रो चरणमा नर्सिङ केयरगिभरका लागि आवेदन माग गरिएको छ ।

जापानले नेपालबाट नर्सिङ केयरगिभरमा योग्यता पुगेकाका लागि जापानी भाषा परीक्षा सञ्चालन गर्न मिति पनि सार्वजनिक गरिसकेको छ । नेपालबाट जापानमा केयरगिभर लैजान जनवरी र मार्चमा गरी २ सिफ्टमा भाषा परीक्षण सञ्चालन गर्ने गरी मिति सार्वजनिक गरिएको हो । भाषा परीक्षाको जिम्मेवारी पाएको जापान फाउन्डेसनले यो जनवरी र मार्चमा गरी २३ सय जनाका लागि भाषा परीक्षा सञ्चालन गर्नेछ ।

फाउन्डेसनले केयरगिभरमा जाने इच्छुकसँग आवेदन माग गरेको छ । भाषा परीक्षा जनवरीको ७ र ८, १४ र १६, २१ र २३, २८ र २९ तारिखका लागि तोकिएको छ । यस्तै मार्चमा भने ३, ५, ९ र ११, १२, १५ र १९ तारिखमा पनि परीक्षा सञ्चालन गरिनेछ । परीक्षाका लागि आवेदन शुल्क २५ सय तोकिएको छ । परीक्षाको किसिममा कम्प्युटरमा आधारित परीक्षण (सीबीटी) टाइप, मार्क टाइप, राइटिङ टाइप र स्किल टाइप तोकिएको छ ।

आवेदन दिन नेपाली नागरिकता, राहदानी वा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) आवश्यक पर्ने र जापानी भाषामा ए टू तह उत्तीर्ण भएको हुनुपर्नेछ । यस्तै बोलीचालीको सामान्य जापानी भाषा बोल्न र बुझ्न सक्ने न्यूनतम योग्यता हुनुपर्नेछ ।

कोरियापछि सुरक्षित र आकर्षण आम्दानी हुने देशमा जापान पर्ने दाबी श्रम मन्त्रालयले गरेको छ । पहिलो ५ वर्षमा ३ लाख ४५ हजार १ सय ५० श्रमिक जापान लैजाने नीति लिइएको छ । दुई देशबीच भएको समझदारीअनुसार भाषा र सीप दुवैमा उत्तीर्ण भएपछि मात्र जापान जान सकिन्छ । तर सीप परीक्षामा पहिलो चरणमा सहभागी भएकामध्ये एकजना पनि उत्तीण नभएपछि जापान जाने प्रक्रियामाथि नै प्रश्नचिह्न खडा भएको छ ।

प्रकाशित मिति : २१ पुष २०७६, सोमबार ०७:२२