१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

फोहोरबाट ‘मोहोर’ निकाल्ने तयारी

२० पुस, दाङ । फोहोर व्यवस्थापन सबैको टाउको दुखाइको विषय बनिरहेको समयमा दाङको घोराही उपमहानगरपालिकाले बजारबाट सङ्कलन हुने फोहोरबाट मोहोर बनाउँदै छ । नगर सभाबाट फोहोर व्यवस्थापन कार्यविधि पारित गरेर उपमहानगरपालिकाले गल्ने फोहोरबाट ग्यास उत्पादन गर्न थालेको हो ।

उपमहानगरपालिका १६ मा रहेको डम्पिङ साइडमा सङ्कलित गल्ने फोहोरबाट ग्यास उत्पादन गर्ने काम धमाधम भइरहेको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । यसको ६५ प्रतिशत काम सम्पन्न भइसकेको खबर गोरखापत्र दैनिकमा छ । “हो, हामीले गल्ने फोहोरबाट ग्यास निकाल्दै छौं,” चौधरीले भने, “नगरवासीसँग नगल्ने फोहोर किनेर बिक्री गर्ने तयारीमा छौँ ।”

घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ललितपुर र नेपाल ऊर्जा विकास कम्पनी प्रालि काठमाडौँका बीचमा त्रिपक्षीय सम्झौता गरी फोहोर व्यवस्थापनको कार्य अघि बढेको हो । २० करोडमा स्थापना हुने ग्यास उद्योगमा ६० प्रतिशत निजी कम्पनी र ४० प्रतिशत विश्व बैंकको लगानी छ ।

घोराही उपमहानगरपालिका क्षेत्रबाट सङ्कलित कुहिने फोहोरबाट दैनिक १३ सय किलो ग्यास र ६ टन प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य रहेको उपमहानगरपालिकाका प्रमुख चौधरीले जानकारी दिए । उनले भने, “फोहोरलाई आर्थिक उत्पादनसँग जोड्दै छौँ । अबको केही समयमै ग्यास उत्पादनको काम सुरु हुनेछ ।”

आयोजना सुरु भएको ५ वर्षसम्म घोराही उपमहानगरपालिकाले फोहोर सङ्कलन, ढुवानी र त्यसपछि कम्पनीले आफैँ फोहोर सङ्कलन गर्ने सम्झौता भएको छ । २० वर्षपछि चालू अवस्थाको उद्योग कम्पनीले उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

ग्यास उत्पादन सुरु भएपछि उद्योगले कुल उत्पादनको १ प्रतिशत रोयल्टी उपमहानगरपालिकालाई तिर्नुपर्ने सम्झौता भएको प्रमुख चौधरीले जानकारी दिए । १४ महिनामा निर्माण सम्पन्न गर्ने गरी गत मङ्सिरमा सम्झौता भए पनि उद्योग स्थलमा रहेका रूख कटान प्रक्रियामा ढिलाइ हुँदा उत्पादनको काम ५ महिना पछि धकेलिएको उनले बताए ।

प्रकाशित मिति : २० पुष २०७६, आईतवार ०६:२३