१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

उद्योगी मालामाल, किसानको बेहाल !


१९ पुस, काठमाडौं महँगी बढ्यो । उद्योगीले चिनीको भाउ सोचेजस्तै पाउँछन् । छुवा, बकासले चिनी मिल मालिकले थप आम्दानी गर्छ । महँगीले उखु खेतीमा लगानी थपियो । तर, किसानले भने उखुको मूल्य लगानी अनुसारले पाउँदैनन् ।

तीन वर्षअघिकै मूल्यमा यतिखेर किसान चिनी मिललाई उखु बुझाउन बाध्य छन् । यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकिएको छ । यो मूल्य तीन वर्ष अघिकै मूल्य हो । उखु बालीलाई सरकारले नगदे खेती सूचीमा राखेको छ । उद्योगीले उखु लिएर किसानलाई २ वर्षसम्म भुक्तानी दिँदैनन् । आफ्नै उत्पादनको मूल्य लिन किसानले आन्दोलन गर्नुपरेको किसानको गुनासो रहेको खबर अन्नपूर्ण पोस्टमा छ । ‘ऋणमै किसानले उखु उब्जाउँछन् । कर्जा काढेर त्यसको गोडमेल गर्छन् । फेरि ऋणकै भारी बोकी कटानी र ढुवानी गर्छन् तर उधारोमै बिक्री गर्नु परिरहेको छ’, उखु उत्पादक कृषक संघ रामनगर महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले भने ।

कुशवाहाका अनुसार दुःखद् कुरो त बेचेको उखुको भुक्तानी नपाउनु हो जसले गर्दा किसान ऋणकै भारीले चेपिन्छ । बजारमा चिनीको मूल्य दिनहुँ बढ्दो क्रममा छ । तर त्यही चिनीको मूलस्रोत उखुवापत किसानले पाउने मूल्य भने तीन वर्षदेखि ज्यूँको त्यूँ छ । २०६३ सालदेखि उखुमा लगानी बढ्न थालेको थियो । तर उखुको भाउ उकालो लाग्नुको सट्टा ओरालो लाग्दै गयो । उखु उब्जाउने किसान र मूल्य तोक्ने मिल मालिकको प्रवृत्तिले उखु खेतीबाट किसान आजित भइसकेका छन् । उखुको सही मूल्य नपाउँदा तराईका २२ जिल्लाका हजारौं उखुकिसान ऋणमा डुब्दै आएका छन् ।

‘मेहनत गरेर उखु उब्जाउँछौं तर त्यसको मीठो फल चाख्न पाउँदैनौं’, महोत्तरीको रामनगरका किसान जयकिशोर महतोले भने, ‘उखु खेतीमा लगाएको लगानी पनि उठाउन हम्मे पर्छ । उखु खेतीबाट आएको आम्दानीले वर्षभरीको गाँस जुटाउन पनि समस्यै हुन्छ । समयमा उखु कटानी र भुक्तानी नहुँदा बचत नै हुँदैन ।’ चिनी उद्योगका उद्योगपतिको मनोमानीविरुद्ध विगतमा किसानले सडक नतताएका होइनन् । २०६७ सालमा सर्लाहीको हरिऔनमा लागतअनुसार उखुको मूल्य पाउनुपर्ने माग राख्दै किसान उखुको लाक्रा नै लिएर उत्रिएका थिए ।

किसानको आन्दोलन चर्को भएपछि प्रशासनले गोली चलायो । अन्ततः कफ्र्युनै लगायो । बाध्य भएर सरकार चिनीको मूल्य अभिवृद्धि करको ५० प्रतिशत किसानलाई दिने निर्णयमा पुग्यो । त्यसपछि उखुको मूल्यमा वृद्धि भयो । त्यसले किसानलाई केही राहत मिल्यो । उत्साही भएर किसानले उखुखेती बढाउँदै लगे । उखु खेती बढेपछि चिनी उद्योग पनि थपिँदै गए । उखुको मूल्य निर्धारणमा राजनीतिक चलखेल पनि बढ्न थाल्यो । चार वर्षदेखि उखुको मूल्य समयमा तोकिएको छैन ।

प्रकाशित मिति : १९ पुष २०७६, शनिबार ०८:०५