२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

पत्रकार महासंघको प्रदेश ७ मा आधिकारिक उम्मेदवार भए जोशी, नक्कली हस्ताक्षर गर्ने कारबाहीमा


२२ वैशाख, काठमाडौँ । नेपाल पत्रकार महासंघको आज हुने प्रदेश नम्बर ७ को निर्वाचनमा प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरको आधिकारिक उम्मेदवार अन्ततः हरि जोशी नै घोषित भएका छन । प्रेस चौतारीमा एमाले पार्टी भित्र लोपोन्मुख अवस्थामा पुगेको गुटको राजनीतिको छायाँ पर्दा उम्मेदवारीबारे ठोस निर्णय हुन सकेको थिएन । पार्टीभित्र गुटबन्दी गर्दा तलाउमा ढुंगा हान्दा जत्तिको तरंगसमेत सिर्जना गर्न नसकेको समूहले पत्रकारको संगठनभित्र खेल्दा समस्या भयो प्रेस चौतारीका एक जना उपाध्यक्षले भने ।

प्रेस चौतारीको सचिवालयको बैठक बस्न सम्भव नभएकाले उपलब्ध र उपस्थति हुन नसकेकाको पदाधिकारीको राय लिएर दुई तिहाई पदाधिकारीको समर्थनमा हरि जोशीलाई पत्रकार महासंघको आज हुने निर्वाचनमा प्रदेश ७ को अध्यक्षमा उम्मेदवार बनाउने निर्णय भएको चौतारीका अध्यक्ष गणेश बस्नेतले बताए । हरि जोशीको उम्मदवार आधिकारीक नै भएको भन्दै प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले पनि विज्ञप्ति मार्फत आम सदस्यलाई मतदानका लागि अपिल गरेका छन ।

यता संगठनको आधिकारिक निर्णयका विरुद्धमा अन्यको नक्कली हस्ताक्षर गरेर रमिता गर्नेहरुलाई कारबाही हुने भएको छ । चौतारी अध्यक्ष गणेश बस्नेतले भने ‘पाँच भन्दा बढी पदाधिकारीको हस्ताक्षर नक्कली गरेर एउटा समूहले जुन अराजकता मच्चाएको छ यसको छानविन गरेर कारबाही हुनेछ । मैले अनुशासन आयोगलाई लिखित रुपमै निर्देशन दिएको छु ।’ उनले भने, आजको निर्वाचनमा संगठनको निर्णयको बिरुद्धमा जाने सबैलाई कारबाही गर्न थोरै पनि कसर बाँकी राखिन्न ।

यस्तै अर्जुन शाहलाई उम्मेवार बनाउनुपर्छ भनेर लविङ गरिरहेको समूहले वरिष्ठ उपाध्यक्ष, माधव नेपाल, उपाध्यक्ष विश्वमणि सुवेदी महासचिव राजेश राई लगायतको हस्ताक्षर किर्तेगरी सार्वजनिक गरेपछि उपाध्यक्ष विश्वमणि सुवेदीले आफू कुनै पनि भेलामा सहभागी नभएको र हस्ताक्षर नगरेकाे बताएर उक्त समूहले किर्ते हस्ताक्षर गरेको पुष्टि गरेका छन ।

कानुन पनि अाकिर्षत हुने 

अन्य व्यक्तिको हस्ताक्षर नक्कली गर्नेलार्इ कानुन अनुसारनै कारबाही गर्न पर्याप्त हुन्छ । त्यस्ता व्यक्तिलार्इ किर्ते मुद्दामा जेल सजाए समेत हुने व्यवस्था रहेकाे छ ।

तीन संगठनका अध्यक्षले जारी गरेको विज्ञप्ति

प्रेस चौतारीका अध्यक्ष बस्नेतले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै

प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघको मिति २०७५ साल बैशाख २२ गते शनिबार हुन गइरहेको प्रदेश निर्वाचनको सन्दर्भलाई लिएर प्रेस चौतारी नेपालको तर्फबाट तय गरिएको आधिकारिक उम्मेदवारबिरुद्ध संगठनकै केही पदाधिकारीहरूबाट अवाञ्छित गतिबिधि भएको घटना सार्वजनिक भएको छ । संगठनको बैठक नबसेको अबस्थामा अध्यक्षले गरेको निर्णय नै आधिकारिक हुने र नेतृत्वको अनुमतिबिना कुनैपनि संगठनसँग बार्ता, छलफल, माइन्यूट र विज्ञप्ति सार्वजनिक गर्न नपाइने बैधानिक ब्यवस्थाबिपरीत संगठनकै वरिष्ठ उपाध्यक्ष माधवप्रसाद नेपाल लगायतका जिम्मेवार पदाधिकारीको सहभागितामा बैठक बसी अबाञ्छित रुपमा माइन्यूट समेत गरेको सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ । यस्ता अराजनीतिक र विधानविपरीतका कार्यले प्रेस चौतारी नेपालकै गरिमामाथि गम्भीर आँच पुगेको छ । अन्य ६ वटा प्रदेशमा केन्द्रीय नेतृत्वसँगको परामर्श र निर्देशन बमोजिम निर्णय कार्यान्वयन भइसकेको अबस्थामा प्रदेश नम्बर ७ का विषयलाई लिएर भइरहेको अबाञ्छित क्रियाकलापले प्रेस चौतारी नेपालका हरेक सदस्यलाई मर्माहत बनाएको छ । यस्तो अवस्थामा सचिवालयका बहुमत सदस्यहरुको भावनाको कदर गर्दै संगठनभित्र अनुशासन कायमलगायतका आवश्यक सबै कदम चाल्नु नेतृत्वको दायित्व र कर्तब्य हो ।

नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनमा प्रदेश नम्बर ७ मा प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालका अध्यक्षहरुले वरिष्ठ पत्रकार हरिप्रसाद जोशीलाई अध्यक्ष पदमा साझा उम्मेदवार बनाउने समझदारी गरी सोहीबमोजिम निर्णय कार्यान्वयन गर्न विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरेको स्पष्ट पार्न चाहन्छु । सो निर्णयमा संगठनका उपाध्यक्षहरु टिका बिष्ट, लिलाराज भट्टराई, लालबाबु शेख, बिश्वमणि सुवेदी, गणेश पाण्डे, सविन प्रियाशन, बीरबहादुर गिरी, उपमहासचिव हिरामान लामा, सचिव अमृतनाथ तिमल्सिना, रामकृष्ण शर्मा, भरत केसी, देविका जिएम र कोषाध्यक्ष इन्द्र आचार्यको समर्थन रहेको छ । तसर्थ, प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयमा आकस्मिक रुपमा आज बसेको उपलब्ध सचिवालय सदस्यहरुको बैठकले निम्न बमोजिमको निर्णय गरेको यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छु ।
निर्णय

१. बैशाख २२ गते हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनको मतदान अगावै प्रदेश–७ मा संगठनका आधिकारिक उम्मेदवार हरिप्रसाद जोशीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिई सार्वजनिक बिज्ञप्ति जारी गर्न संगठनका सदस्य अर्जुनप्रसाद शाहलाई निर्देशित गरिन्छ । शाहलाई नेपाल पत्रकार महासंघको गत महाधिवेशनमा संगठनले केन्द्रीय सदस्य पदमा उम्मेदवार हुने अवसर दिइसकेको र निजले अन्य कुनै पनि पदमा आकांक्षा व्यक्त नगर्ने प्रतिबद्धता गरेको स्मरण गराउँदै प्रदेश अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिन पटकपटक निर्देशन गरिसकेको छ । संगठनको निर्देशन लत्याउँदै अनाधिकृत उम्मेदवारी जारी राखेमा संगठनमाथि गम्भीर घात गरेको अभियोगमा निश्काशनसम्मको कार्वाही गरिनेछ ।
२. संगठनको अनुमतिबेगर बरिष्ठ उपाध्यक्ष माधवप्रसाद नेपाल, उपाध्यक्ष (समावेसी) सइन्द्र राई, प्रदेश–७ का उपाध्यक्ष नरेन्द्र साउद, महासचिव राजेश राई, उपमहासचिव रामकुमार एलन र सचिव शुरोजंग पाण्डेले आधिकारिक निर्णयविरुद्ध अन्य संगठनसँग बैठक गर्ने र माइन्यूट समेत तयार गरेको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएकाले यस्ता अबाञ्छित गतिविधि सच्याउन निर्देशन दिइन्छ । आधिकारिक उम्मेदवारविरुद्धको गतिविधि सच्याउँदै मतदान अगावै आधिकारिक निर्णयको पक्षमा उभिन निर्देश गरिन्छ । त्यसो नभएमा बिधानबमोजिम कार्बाही हुनेछ ।
३. प्रदेश नम्बर ७ का आधिकारिक उम्मेदवार हरिप्रसाद जोशीको बिपक्षमा प्रचारप्रसार गर्ने तथा मतदान गर्ने संगठनका सदस्यमाथि विधानबमोजिम हदैसम्मको कारबाही हुनेछ । अवाञ्छित र अनुशासनहीन कार्यमा संलग्न रहेकामाथि कारबाही प्रक्रिया अबिलम्ब थाल्न अनुशासन आयोगलाई निर्देशन गरिन्छ ।
४ संगठनको गौरवशाली इतिहास, परम्परा र चेन अफ कमाण्ड बमोजिम संगठनका आधिकारिक उम्मेदवारहरुको पक्षमा मतदान गरी संगठनलाई विजयी बनाउन प्रेस चौतारी नेपालका सबै सदस्यहरुलाई निर्देश गरिन्छ ।

२०७५ बैशाख २१

गणेश बस्नेत
अध्यक्ष

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार ०६:४३