२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

आज नचलेका गाडीको रुट परमिट ऐनअनुसार निलम्बन गछौँः महानिर्देशक भट्टराई


२१ वैशाख, काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बन्द हडतालको नाममा सवारी नचलाउने यातायात समितिको रुट परमिट यातायात व्यवस्था ऐनअनुसार निलम्बन गर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र नेपाल प्रहरीको संयुक्त बैठकबाट आज सवारी नचलाउने सवारी साधनको रुट निलम्बन गर्ने निर्णय भएको बताए ।


महानिर्देशक भट्टराईले बस सञ्चालनका लागि यातायात व्यवसायीसँग विनम्र अनुरोध गर्ने र अनुरोध नमाने कडा रुपमा प्रस्तुत हुने स्पष्ट पारे । बीमालगायत केही जायज माग सम्बोधन गर्न सरकार तयार रहेको र सिन्डिकेट लाद्ने बस व्यवसायी समिति तथा व्यवसायीले बैंकबाट धमाधम पैसा निकालेको सूचना आएको भन्दै बैंक खाता रोक्नका लागि गृहमन्त्रालयले गृहकार्य शुरु गरिसकेको बताएका छन् ।

भट्टराईले व्यवसायीसँग छलफल गरी ल्याइएको २०४९ को ऐनलाई कार्यविधिमार्फत लागू गर्न खोज्दा व्यवसायीले आपत्ति जनाएको उल्लेख गरे । फर्म, कम्पनी र सहकारीमार्फत यातायात सञ्चालन गर्न पाउने व्यवस्था सरकारले गरेको भन्दै व्यवसायीले कार्यविधि नै नपढी र कुरै नबुझी विरोध गरिरहेको औल्याएका छन् ।
व्यवसायीले आन्दोलनलाई निरन्तर दिए निजी विद्यालय, प्रहरी, नेपाली सेना लगायतका विभिन्न क्षेत्रका बस प्रयोग गरेर यात्रुलाई सेवा दिने उनको भनाइ थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार १९:२३