२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

साउदीमा जेल परेका राईलाई ३० लाख आर्थिक सहयोग


२१ वैशाख,काठमाडौँ । साउदीमा यातायात दुर्घटनामा परी जेल परेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम परिवारलाई हस्तान्तरण गरिएको छ ।

दुई वर्षदेखि साउदी जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रु ३० लाख नौ हजार ४७ प्रधानमन्त्री केपी शर्मा ओलीले आज परिवारका सदस्यलाई हस्तान्तरण गरेका छन् ।

यातायात दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसक्दा उनले दुई वर्षदेखि बन्दी जीवन बिताइरहेका छन् । एबिसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको सो रकम प्रधानमन्त्री ओलीले राईकी धर्मपत्नी सरिता राईलाई प्रदान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले विदेशिएका नेपालीलाई स्वदेशमै रोजगारी दिलाउन र गरीबी हटाउन आफ्नो नेतृत्वको सरकार कटिबद्ध रहेको बताएका छन् । देशकै स्रोत साधन प्रयोग गरेर उद्योग स्थापना गर्दै रोजगारी सिर्जना गर्दै देशको ढुुकुटी बढाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।
कार्यक्रममा इन्द्रेणी सांगीतिक समूहका कृष्ण कँडेलले प्रेमबहादुर राईको रिहाइका लागि रु ९५ लाख नेपाली चाहिने र अहिलेसम्म रु ७१ लाख संकलन भइसकेको जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार १७:२७