१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

दाङमा विद्यालयको ३५ बिगाह जमिन अतिक्रमण


२१ वैशाख, दाङ । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ नमूना माध्यामिक विद्यालयको करीब ३५ बिगाह जग्गा अतिक्रमणमा परेको छ ।

अतिक्रमित जग्गामा पक्की भवन र पक्की सडक समेत बनेका छन् । घोराही उपमहानगरपालिका–११ खैरा, चारबगियामा रहेको उक्त विद्यालयको जग्गा अतिक्रमणमा परेको वषौँ बितिसक्दा समेत ती जग्गा फिर्ता हुनसकेको छैन । कतिले जग्गा किनबेच गर्छन् तर विद्यालयलाई थाहै हुदैन । आफ्नै जग्गा किनबेच भइरहँदा विद्यालय प्रशासन निरह बनेकाले अतिक्रमित जग्गा फिर्ता गराउन कठिन भएको हो ।

जग्गा फिर्ता गराउन माग गर्दै जिल्ला शिक्षा कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय पुग्दासमेत जग्गा फिर्ता हुननसकेको विद्यालयका प्रधानाध्यापक टोपबहादुर केसीले बताए ।

तत्कालीन नारायणपुर गाविस, त्रिपुर नगरपालिकाबाट सर्वदलीय बैठक गराएर जग्गा फिर्ता गराउने प्रयास भए पनि सफल नभएको बताइएको छ । विद्यालयको ८२ बिगाहा छ कठ्ठा नौ धुर जग्गामध्ये ३५ बिगाह भन्दा बढी जमिन २०३६ सालयता अतिक्रमण हुँदै आएको हो ।

आफ्नै जग्गा उपभोग गर्न नपाउँदा विद्यालयका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन विद्यार्थीबाट सहयोग जुटाउनुपर्ने बाध्यता भएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार १२:२०