१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

दुई महिनादेखि बन्द रहेको गण्डक जलविद्युत् केन्द्रमा उत्पादन सुरु

–पुरुषोत्तम सुवेदी

१५ पाैष, काठमाडाैँ । दुई महिनादेखि उत्पादन बन्द रहेको पश्चिम नवलपरासीको सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन शुरु भएको छ । नियमित कार्यअन्तर्गत नहर मर्मतसम्भारका लागि भारतीय पक्षद्वारा गत कात्तिक १२ गतेदेखि नहरमा पानी बन्द गरेपछि उत्पादन रोकिएको थियो ।

गत मङ्सिर ३० गतेदेखि नहरमा पानी आएपछि पुसको पहिलो सातादेखि केन्द्रमा विद्युत् उत्पादन शुरु भएको कार्यालयका इञ्जिनीयर अनिल शाहले जानकारी दिनुभयो । केन्द्रमा हाल दैनिक करिव तीन मेगावाट विद्युत् उत्पादन हुँदै आएको अवस्था छ । पश्चिम नवलपरासीको सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रमा वर्षौंदेखि क्षमताभन्दा निकै कम विद्युत् उत्पादन हुँदै आएको छ । दैनिक १५ मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको सो केन्द्रमा नियमितरुपमा अहिले तीनदेखि तीन दशमलव पाँच मेगावाटसम्म मात्रै विद्युत् उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ ।

केन्द्रमा जडित तीन टर्वाइनमध्ये त्यसमा जडित उपकरण र मेशिनरीका समान पुरानो भएपछि तीनमध्ये दुई वटा टर्वाइन बिग्रिएर पूर्णरुपमा थन्किएका छन् भने एउटामात्रै (२ नं) टर्वाइन सञ्चालनमा रहेको छ । मर्मतसम्भार नहँुदा करिब १० देखि १२ वर्षअघिबाट थन्किएका टर्वाइन नं १ र वर्षअघिबाट टर्वाइन नं ३ वर्षैदेखि बिग्रेको अवस्थामा छ ।

हाल सञ्चालन रहेको २ नं टर्वाइनसमेत जीर्ण अवस्थामा रहेको छ । सञ्चालनमा रहेका एउटा टर्वाइनसमेत पुराना उपकरण र मेसिनरीका कारण लक्ष्यअनुसार विद्युत् उत्पादन गर्न सकेको छैन । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार पश्चिम गण्डक नहरमा पानी खोल्ने वा नहरमा पानी छोड्ने पूर्ण अधिकार भारतीय पक्षसँँग नीहित छ । केन्द्रमा रहेको मेशिनरी उपकरण पुरानो हुँदै जाँदा एउटा टर्वाइनले पनि क्षमताअनुसार विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले जनाएको छ ।

केन्द्रमा एउटा टर्वाइनका लागि नहरमा चार हजार क्युसेक पानी आवश्यक हुन्छ । यद्यपि आवश्यकताअनुसार पानी आए पनि र नहरमा राम्रा उपकरण नहँुदा अहिले सञ्चालनमा रहेको एउटा टर्वाइनबाट समेत पूर्णरुपमा उत्पादन हुन नसकेको हो । करिब ४० वर्षदेखि जडान भएका केन्द्रका अधिकांश उपकरण पुराना रहेका छन् । केन्द्रलाई पूर्ण क्षमताअनुसार सञ्चालनमा ल्याउन बृहत् मर्मतसम्भार योजना आवश्यक रहेको बताइएको छ । पुरानो प्रविधिका मेसिनरीका स्थानमा नयाँ मेसिनरी उपकरण जडान गरी क्षमताअनुसार उत्पादन दिन सकिने अवस्था रहेको केन्द्रले जनाएको छ ।

दैनिक १५ मेगावाट विद्युत् उत्पादन गर्ने गरी सञ्चालनमा ल्याउन करिब रु एक अर्ब बराबरको आर्थिक लगानी हुन आवश्यक देखिएको केन्द्रले जनाएको छ । सो केन्द्रलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन यस क्षेत्रका उद्योगी व्यवसायी आर्थिक लगानी गर्न तयार रहेको यसअगावै बताउँदै आएका छन् ।

उक्त केन्द्रमा रहेको सवस्टेशनमार्फत विद्युत् भारतको रामनगरमा आयातनिर्यात हुने तथा १३२ केभीमा बुटवल र ३३ एवं ११ केभीका बिजुली परासी क्षेत्रमा वितरण गरिँदै आएको छ । उक्त विद्युत्गृह सन् १९७९ बाट सञ्चालनमा आएको थियो । सम्झौताअनुसार पावर हाउस सन् १९८१ मा भारत सरकारले नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ३२ बिघा क्षेत्रफलमा फैलिएको उक्त विद्युत् केन्द्रका अधिकांश भवन र संरचना तथा मेसिनरी उपकरण जीर्ण भइसकेका छन् । केन्द्रमा हाल स्थायी र ज्यालादारी गरी करिब ५० कर्मचारी कार्यरत छन् । रासस

प्रकाशित मिति : १५ पुष २०७६, मंगलवार ०७:२१