१३ पुष २०८१, शनिबार | Sat Dec 28 2024

छिमेकीलाई दिसा खुवाउने महिला पक्राउ

२१ वैशाख, सुर्खेत । सुर्खेतमा आन्तरिक विवाद हुँदा छिमेकीलाई दिसा खुवाउने एकजना महिला पक्राउ परेकी छन् ।

बराहताल गाउँपालिका–५ सुर्खेतकी भविसरा थापा मगरले बराहताल गाउँपालिका–५ का भक्तबहादुर सलामीलाई मिलापत्र गर्ने क्रममा बड्डीचौर प्रहरी चौकीको हाताभित्रै दिसा खुवाएपछि पक्राउ परेकी हुन् ।

गाउँमा सलामीले मदिरा सेवन गरी गाली बेइज्जती गरेको भनी थापाले प्रहरीचौकीमा उजुरी गरेकी थिइन् । प्रहरीले थापा र सलामी दुवै पक्षलाई झिकाइ वडा नं ५ का वडाध्यक्ष दिल मसाङ्गीको रोहवरमा छलफल गर्दा अबीरको टीका लगाएर सलामीसँग मिलापत्र गर्छु भन्दै प्लाष्टिकमा लुकाई ल्याएको दिसा खुवाएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक उमाकान्त चतुर्वेदीले जानकारी दिए ।

प्रहरी कार्यालय बड्डीचौरमा मिलापत्रको छलफलका क्रममा दिसा खुवाएपछि सलामीले प्रहरीमा उजुरी दिएको र त्यसैको आधारमा थापालाई पक्राउ गरिएको चतुर्वेदीले बताए । प्रहरी कार्यालयमा दिसा खुवाउने थापालाई थप अनुसन्धान गरिरहेको उनले बताए ।

बड्डीचौर प्रहरीले चौकीमै दिसा खुवाएपछि विवाद बढ्दा थापा र सलामीको पक्षलाई छलफलका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाइएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार ११:५८