१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

कामदारलाई घर फर्कन भोलिसम्मको समय !

१४ पुस, काठमाडौं अवैधानिक भएर बसेका नेपाली श्रमिकलाई मलेसिया सरकारले घर फर्किन दिएको अवसरको सदुपयोग गर्न त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । मलेसियामा भिसा अवधिभन्दा धेरै बसेका, कागजपत्रविहीन भएका वा अन्य कारणले अवैधानिक हुन पुगेका नेपालीसहित सबै विदेशी नागरिकलाई गएको अगस्त १ देखि भोलि (डिसेम्बर ३१) सम्मको समय दिएको छ ।

मलेसियाले गएको अगस्टदेखि गैरकानुनी हैसियतमा मलेसियामा रहेका विदेशी नागरिकलाई स्वदेश फिर्ताको अवसर दिन ‘ब्याक फर गुड प्रोग्राम’ कार्यक्रम नै सञ्चालन गरेको छ । यो अवसरको सदुपयोग गरेर फर्किनका लागि श्रमिकले आफ्नो देशको दूतावासमा गएर यात्रा अनुमतिपत्र लिएर अध्यागमन विभाग कार्यालयमा उपस्थित हुनुपर्छ ।

त्यसरी पुग्ने श्रमिकलाई अध्यागमन अधिकारीले बायोमेट्रिकलगायत विवरण संकलन गरी अध्यागमन सिस्टममा सूचीकृत गरी मलेसियाबाट बाहिरिने पास उपलब्ध गराउँछन् । पास पाउने श्रमिक आफैँले एक साताभित्र हवाई टिकटको व्यवस्था मिलाई स्वदेश फर्कनुपर्छ ।

मलेसियाली गृह मन्त्रालयले ब्याक फर गुड कार्यक्रमको म्याद सकिएपछि गैरकानुनी हैसियतमा बसिरहेका श्रमिकका लागि देशव्यापी कारबाही अभियान सञ्चालन गर्ने भएकाले मलेसियामा अवैधानिक भएर रहेका श्रमिकलाई तोकिएको समयमा घर फर्किन दूतावासले आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ पुष २०७६, सोमबार ०६:४६