१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

‘काल्पनिक कुराले निजगढमा अवरोध’

१४ पुस, काठमाडौं वातावरणसँग सम्बन्धित काल्पनिक कुरा गरेर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध ल्याउन खोजिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्पष्ट पारेका छन् । उनले कपोलकल्पित कुरा गरी यो योजनाको विषयमा अफवाह फैलाउने काम भइरहेको बताए ।

‘विकासको काम गर्दा केही विनाश हुन्छ,’ उनले भने, ‘अति कम वातावरणीय क्षतिसहित निजगढ बनाउनुपर्छ भन्नेमा सरकार सचेत छ ।’ वातावरण संरक्षणमा सरकार निकै गम्भीर रहेको पनि उनले प्रस्ट्याए । ‘जलवायु परिवर्तनबारे विश्वकै ध्यान आकर्षित गर्ने कालापत्थर बैठकदेखि गैँडाको जिरो पोचिङको अवस्थासम्म पुर्‍याउने काम सरकारकै कारण भएको हो,’ उनले भने । निजगढमा विमानस्थल निर्माण गर्दा त्यसबाट हुनसक्ने क्षतिपूर्ति गर्न वैकल्पिक व्यवस्था गरेर मात्र अगाडि बढिने पनि उनले बताए ।

भैरहवाको निर्माण लम्बिने
लक्ष्यअनुसार यही डिसेम्बरभित्र निर्माण पूरा गर्नुपर्ने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ३ महिना लम्बिने खबर गोरखापत्र दैनिकमा छ । उपकरण आयातमा भएको ढिलाइका कारण निर्माण कम्पनी नर्थ वेस्ट सीभीएल एभिएसनले समयमै काम पूरा गर्न नसकिने जानकारी विमानस्थल आयोजना कार्यालयलाई गराएको थियो । सोहीअनुसार कार्यालयले गत बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखेको थियो । सन् २०१८ मै सम्पन्न हुनुपर्ने आयोजना विभिन्न कारणवश अहिले पूरा हुने अवस्था नजिक पुगेकाले अब जसरी पनि निर्माणको काम अगाडि बढाइने मन्त्री भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १४ पुष २०७६, सोमबार ०६:२४