१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

पर्यटक भित्र्याउन ‘पर्यटन लगानी सम्मेलन’

१३ पुस, काठमाडौं नेपालको पर्यटन क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यसहित भ्रमण वर्षको अवसरमा लगानी सम्मेलन आयोजना हुने भएको छ । यसअघि सबै क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी सम्मेलन आयोजना भए पनि पहिलोपटक पर्यटन लक्षित लगानी सम्मेलन आयोजना हुने भएको हो ।

विश्व बैङ्कसँगको सहकार्यमा त्यस्तो सम्मेलन आयोजनाको योजना बनेको भ्रमण वर्ष २०२० सचिवालयका राष्ट्रिय संयोजक सुरज वैद्यले बताए । उनका अनुसार २०७७ असोज ६ गते यस्तो सम्मेलन आयोजना गर्ने योजना छ ।

भ्रमण वर्षको सफलता नयाँ भित्रने लगानीले पनि निर्धारण गर्ने भएकाले यस्तो सम्मेलन आयोजनाको तयारी गरिएको उनले जानकारी दिए । भ्रमण वर्ष खाली सङ्ख्याले मात्र सफल हुँदैन,’ उनले भने, ‘नयाँ लगानी र त्यसले सिर्जना गर्ने रोजगारीको पनि यसको सफलतामा महत्त्वपूर्ण भूमिका हुन्छ ।’ सम्मेलनमा पर्यटन क्षेत्रसँग सम्बन्धित स्वदेशी र विदेशी लगानीकर्ताको सहभागिता रहने उनले जानकारी दिए । सम्मेलनको मिति तय भए पनि स्थान भने अहिलेसम्म टुङ्गो लागेको छैन ।

यसअघि नेपालमा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित दुईवटा लगानी सम्मेलन आयोजना भइसकेको छ । तर लगानी सम्मेलनपछिको उपलब्धि कार्यान्वयनको अवस्था भने कमजोर छ । त्यही परिस्थितिलाई ध्यानमा राखेर पर्यटन लगानी सम्मेलन भने अलि फरक ढङ्गबाट गरिने वैद्यको भनाइ छ । लगानी प्रतिबद्धतालाई कार्यान्वयनमै ल्याउने गरी सम्मेलनको आयोजना हुने उनले बताए ।

प्रकाशित मिति : १३ पुष २०७६, आईतवार ०७:००