११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

जाडो त छ, तैपनि सुन्तला किन खाने ? यस्ता छन् फाइदा !

११ पुस, काठमाडौं वर्षको एक सिजनमा पाइने सुन्तला स्वादका हिसाबले निकै मीठो फल हो । यो स्वास्थ्यका लागि निकै फलदायी मानिन्छ । उसो त अहिले सुन्तलाको सिजन पनि हो ।

सुन्तला भिटामिन सीको प्रमुख स्रोत हो । भिटामिन चक्की खानुको साटो सुन्तला खानु स्वास्थ्य र सौन्दर्यका लागि फाइदाजनक हुन्छ ।

बढी तौल भएका व्यक्तिले पर्याप्त सुन्तला खाए उत्तम हुन्छ । यसको फलसँगै बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ । यसमा भएका तत्त्वले शरीरको प्रतिरोधात्मक शक्ति बढाउँछ । सुन्तलाको छोक्राले पेट सफा राख्न मद्दत गर्छ । बालबालिकालाई झाडापखालाले सताउँदा सुन्तलाको रस खुवायो भने विस्तारै निको हुँदै जान्छ ।

गिजाबाट रगत बग्ने समस्यालाई पनि सुन्तलाले फाइदा पुर्‍याउँछ भने यसमा रहेको क्याल्सियमले दाँतलाई स्वस्थ र मजबुत बनाउँछ । यसको बोक्रा सुकाएर अनुहारमा लगाउँदा छाला नरम र चम्किलो बन्छ । यसको सेवनले कब्जियतबाट जोगाउँछ भने यसमा पाइने भिटामिन सीले रुघाखोकीबाट जोगाउँछ ।

सुन्तलाले मिर्गौलाको पत्थरी हुनबाट जोगाउँछ । दम, ब्रोङकाइटिस, ज्वरो र मुटुरोगी, डन्डीफोर, खटिरा, निमोनियाँ, पाइरिया, श्वासप्रश्वास, टाइफाइड, मधुमेह, उच्च रक्तचापका रोगीलाई यो फाइदाजनक मानिन्छ । मदिराको लतलाई पनि यसले कम गराउन मद्दत गर्छ । अल्सरको संक्रमण कम गर्न सुन्तलाले सहयोग पुर्‍याउँछ ।

आँखाका लागि यो फाइदाजनक रहन्छ भने कफले गाह्रो भएको छ भने यसले कफ निकाल्छ । थकाई लागेका बेला सुन्तलाको जुस खानुहोस् । तत्कालै सहज महसुस हुनेछ । सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ । यस्तै मिर्गोलासम्बन्धी रोग र पत्थरीको समस्या पनि हुँदैन ।

सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ । सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधि सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछन् । पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ । जुन सुन्तला खानाले रोकिन्छ ।

अब आफैं विचार गर्नुस् । जाडोमा सुन्तला खाने कि नखाने । स्वास्थ्यका लागि फाइदा गर्ने सुन्तला घाममै बसेर खाँदा झन् उत्तम ।

प्रकाशित मिति : ११ पुष २०७६, शुक्रबार ०८:४०