१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

चितवनको ‘सिन्ती झरना’ आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै (फोटोफिचर)


–शिशिर सिंखडा
२० वैशाख, चितवन । चितवनको कालिका नगरपालिका वडा नं. ९ र १० को सिमानामा रहेको पर्यटकीय क्षेत्र सिन्ती झरना जानको लागि सिढी बाटो निर्माण गर्न आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । कालिका नगरपालिकाको आर्थिक सहयोग र नेपाली सेना, सशस्त्र प्रहरी तथा जनपथ प्रहरीले श्रमदान गरी सो बाटो निर्माण गरिने भएको छ । शिलान्यास कार्यक्रमका प्रमख अतिथि प्रदेश सभाका सांसद घनश्याम दाहाल, विशिष्ट अतिथि सिंहनाथ गण शक्तिखोरका प्रमुख प्रेम हमाल, कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले संयुक्त रुपमा सो बाटोको शिलान्यास गरेका हुन् ।

बाटोको शिलान्यास गर्दै प्रदेश सभाका सांसद घनश्याम दाहालले चितवन देशकै तेश्रो पर्यटकीय गन्तव्य रहेको भन्दै सौराहा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाईलाई लम्ब्याउन यस्ता झरना एवम् उपर्दाङगढी तथा सिराइचुली जस्ता मनमोहक क्षेत्रहरुले सहयोग पु¥याउने बताए । यस क्षेत्रमा बस्दै आएका चेपाङ जातीको रहनसहन, भेषभुषा, कला, संस्कृतिलाई समेटेर सौराहा–सिन्ती झरना–उपर्दाङगढी–सिराइचुलीलाई जोडेर नयाँ पर्यटकीय गन्तव्यको विकास गर्नु अहिलेको आवश्यकता रहेको समेत उनले बताए ।

कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले कालिका नगरको पहाडी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा र समथर भूभागलाई कृषि क्षेत्रको रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको बताए । नगरपालिकाले सिन्ती झरना, चित्राम झरना, नागदह, चमेरे गुफा, कालिका मन्दिर लगायतका ऐतिहासिक र पर्यटकीय क्षेत्रलाई पर्यटकीय संरक्षण क्षेत्र घोषणा गरी सकिएको समेत बताए । त्यस ठाउँका अतिरिक्त भिमवली मन्दिर, उदयपुर फनपार्क लगायतका क्षेत्रलाई समेत पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य रहेको श्रेष्ठले बताए । पहिलो चरणमा सिन्ती झरनालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न शुरुमा १० लाख रुपैया बजेट बिनियोजन गरिएको भन्दै क्रमशः काम अगाडि बढाउने सन्दर्भमा आवश्यक बजेट बिनियोजन हुने समेत उनले बताए । सडक यातायातको सुविधा नहुँदा ओझेलमा परेको सिन्ती झरना लगायत विभिन्न पर्यटकीय एवम् धार्मिक स्थलको विकास र प्रवद्र्धन गर्न नगरपालिका सधैँ प्रतिवद्ध रहेको समेत उनले बताए ।

यस नगरपालिकाको काखमै रहेको उपर्दाङगढी र सिराइचुलीलाई समेत जोडेर चेपाङ भेषभुषा, रहनसहन र उनीहरुको कला, संस्कृतिलाई समेट्दै नयाँ पर्यटकीय गन्तव्य बनाउन नगरपालिकाले काम थालनी गरिसकेको उनले जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका अतिरिक्त नगरपालिकाका हरेक वडाका बासिन्दाहरुले पनि सो झरना जाने सिढी बाटो बनाउन श्रमदान गर्ने बताउदै नगर प्रमुख श्रेष्ठले यही जेठ मसान्तसम्म बाटो निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको समेत बताए । सिढी बाटो निर्माण सम्पन्न गरिसकेपछि झरनालाई व्यवस्थित बनाउन पनि तत्काल काम थालनी गर्ने उनले जानकारी दिए । सो बाटो निर्माण सम्पन्न भएपछि आन्तरिकका साथै बाह्य पर्यटकहरु पनि सो झरना अवलोकन गर्न आउन सहज हुने उनले बताए ।

बाटो शिलान्यास कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि जयचन्द्र प्रसाद चौधरी, नेपाली कांग्रेसका बिर बहादुर थापा, एमाओवादी केन्द्रका रामध्वज डल्लाकोटी लगायतले कालिका नगरपालिका क्षेत्रका विभिन्न ऐतिहासिक र पर्यटकीय क्षेत्रलाई समेटेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागेकोमा नगरपालिकालाई धन्यवाद समेत व्यक्त गरेका थिए । कार्यक्रममा कालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, वडा नं. ९ का वडा अध्यक्ष हेम बहादुर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

चितवनको भरतपुरबाट २४ किलोमिटर पूर्वमा रहेको तथा पूर्व–पश्चिम राजमार्गको टाँडी बजारबाट १८ किलोमिटर उत्तरमा रहेको सो झरना पुग्न शक्तिखोर हुँदै दोगरासम्म मोटरबाटो हुँदै जान सकिन्छ । शक्तिखोर–सिद्धि सडकखण्ड अन्तर्गत दोगराबाट करिब साढे २ किलोमिटरको दुरीमा रहेको सो सिन्ती झरना पैदल हिडेर ४५ मिनेटमा पुगिन्छ । बाह्रै महिना सफा पानी बग्ने सो झरना करिब ३५ मिटर लामो रहेको छ । झरनामा विशेषगरी शनिबार र बिदाको दिन आन्तरिक पर्यटकहरुको उल्लेख्य उपस्थिति रहने गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७५, बिहीबार १९:३४