१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

भोटेकोसीले थाल्यो व्यावसायिक उत्पादन

१० पुस, सिन्धुपाल्चोक २०७२ वैशाख १२ को भूकम्पले ध्वस्त भएपछि चार वर्षसम्म बन्द रहेको भोटेकोसी जलविद्युत् आयोजनाले पुनः व्यावसायिक उत्पादन थालेको छ । पुनर्निर्माण सकेर १५ दिनको परीक्षण सफल भएपछि आयोजनाले व्यावसायिक उत्पादन गर्न थालेको हो ।


आयोजनाले गत मंसिर २१ बाट परीक्षण उत्पादन थालेको थियो । आयोजना भोटेकोसी पावर कम्पनीको स्वामित्वमा छ । २०७३ असार २१ गते भोटेकोसीमा आएको बाढीले आयोजनामा ठूलो क्षति भएको थियो ।

कम्पनीका महाप्रबन्धक विक्रमरत्न स्थापितले आयोजनाले दैनिक २२ देखि २५ मेगावाट विद्युत् उत्पादन गर्दै आएको जानकारी दिए । आयोजनाको पूर्णक्षमता ४५ मेघावाट हो । हिउँदमा भोटेकोसीको पानीको बहाव घट्ने भएका कारण अहिले आधा मात्रै विद्युत् उत्पादन गरिरहेको महाप्रबन्धक स्थापितको भनाइ छ ।

आफ्नै ट्रान्समिसन लाइनमार्फत लामोसाँघुमा रहेको आयोजनाबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको पनि स्थापितले जानकारी दिए । विद्युत् प्राधिकरणले सो हाइड्रोको उपकरण र मेसिन परीक्षण गरी विद्युत् उत्पादन गर्न अनुमति दिएको थियो । चिनियाँ कम्पनी सिनो हाइड्रो ११ ब्युरोले क्षतिग्रस्त आयोजना पुनर्निर्माण गरेको थियो । आयोजनाको सबै इलेक्ट्रोनिक्स सामान नयाँ फेरिएको खबर गोरखापत्र दैनिकमा छ । उनले पुनर्निर्माणमा कुल ७ अर्ब रुपैयाँ लागेको जानकारी दिए ।

आयोजनालाई २०७१ साउन १७ गतेको जुरे पहिरोले ट्रान्समिसन लाइन बगाएको थियो । त्यसपछि ६ महिना उत्पादन बन्द भएको थियो । सन् २०११ मा विद्युत् खरिद सम्झौता गरी आयोजनाले विद्युत् उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति : १० पुष २०७६, बिहीबार ०७:४४