१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

वर्षाले अलैँची किसान खुसी

९ पुस, ताप्लेजुङ यस वर्ष हिउँदे मौसमको सुरुमै वर्षा भएकाले ताप्लेजुङका अलैंची किसान खुसी भएका छन् । हिमाली क्षेत्रमा हिमपातसँगै सबै ठाउँमा वर्षा भएपछि जिल्लाका किसान हर्षित भएका हुन् ।

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय ताप्लेजुङका अनुसार यसपटक जिल्लामा ३६ मिलिमिटर वर्षा भएको छ । जिल्लामा अलैँची खेती प्रमुख नगदेबालीका रूपमा रहेको खबर गोरखापत्र दैनिकमा छ । अधिकांश किसान अलैँची खेतीमा संलग्न रहँदै आएकाले हिउँद मौसमको सुरुमा वर्षा हुँदा अलैँची खेतीलाई राहत पुगेको छ । यस्तै यसपटकको वर्षाले तोरी, गहुँ, जौलगायत हिउँदे बालीका लागिसमेत राहत पुगेको किसान बताउँछन् ।

ताप्लेजुङको एक नगरपालिकासहित ९ स्थानीय तहका ६१ वटा वडामध्ये ६० वडामा अलैँची खेती गरिन्छ । फक्ताङलुङ गाउँपालिका ७, ओलाङचुङगोलाबाहेक सबै वडामा खेती गर्ने गरिएको छ । हाल मूल्यका कारणले भने किसान अलैँची खेतीप्रति धेरै सन्तुष्टि नभए पनि वर्षा भएकाले खेतीका लागि राहत मिलेको उनीहरूको भनाइ छ । अहिले तल्लो अर्थात् औल क्षेत्रमा रहेको अलैँची खेतीलाई सबैभन्दा बढी राहत मिलेको सिदिङ्वा गाउँपालिका ४ साब्लाखुका सञ्जय लिम्बूले बताए ।

उनका अनुसार हिजोआज औलमा अलैँची फूल खेल्ने समय भएकाले सिँचाइ चाहिने बेलामा वर्षा भएको छ । अलैँची खेती जिल्लाको औल क्षेत्र र माथिल्लो अर्थात् लेक क्षेत्रसम्म हुने गरेको छ भने करिब ८५ प्रतिशत किसान अलैँची खेतीमा संलग्न छन् ।

जिल्लामा व्यापार व्यवसायमा आबद्ध व्यापारी अधिकांशको ठूलो व्यावसायिक कारोबार पनि अलैँचीकै हुने गरेको छ । यहाँ वार्षिक ३ हजार टनसम्म अलैँची उत्पादन हुने गरेको छ । हालसम्मको तथ्यांकअनुसार ताप्लेजुङ नेपालकै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्ला पनि हो ।

यता मूल्य भने पछिल्लो समय बर्सेनि ओरालो लाग्दै गएको छ । करिब एक दशकअघि प्रतिमन (४० किलो) १ लाख २० हजार रुपैयाँसम्ममा कारोबार भएको अलैँची त्यसपछि निरन्तर मूल्यमा गिरावट आएको छ । हाल सदरमुकाम फुङलिङलगायत स्थानीय बजारमा प्रतिमन २४ हजार रुपैयाँसम्ममा कारोबार हुँदै आएको व्यवसायीले बताएका छन् ।

प्रकाशित मिति : ९ पुष २०७६, बुधबार ०६:५२