१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

८ पुस, दोलखा किबी जोनका रूपमा परिचित दोलखामा यस वर्ष करिब ३ सय टन किबी फलेको छ । प्रतिकिलो सय रुपैयाँ मूल्य हुँदा पनि यो उत्पादन ३ करोड रुपैयाँको छ ।

किबी जोन परियोजनाअन्तर्गतका भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, गौरीशङ्कर, बिगु, कालिञ्चोक र शैलुङ गाउँपालिकाका २२ वडाका दुई सय हेक्टरमा किबी उत्पादन भएको खबर गोरखापत्र दैनिकमा छ । अघिल्लो वर्ष १८५ टन उत्पादन भएकामा यस वर्ष झन्डै दोब्बरले किबी उत्पादन बढेको हो । उत्पादित किबी स्थानीय बजारमा आधा र बाँकी काठमाडौँको बजारमा बिक्री गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ दोलखाअन्तर्गत किबी जोनका वरिष्ठ कृषि अधिकृत मोहनप्रसाद खतिवडाले मोन्टी जातका ६० प्रतिशत, एलिसन जातका ३० प्रतिशत, हेवार्ड जातका ५ प्रतिशत र अन्य ५ प्रतिशत किबी उत्पादन भएको जानकारी दिए । विशेषगरी कात्तिक र मंसिरमा टिप्नुपर्ने किबी २ महिनाभित्र बिक्री गरिसक्नुपर्ने हुन्छ । त्यसैले पनि दोलखाका ठूलादेखि साना बजारमा अहिले किबी फल पाउन सकिन्छ ।

बिग्रने डरले एकैपटक बजारमा किबी ल्याउनुपर्ने भएपछि किबीको भाउ नपाएको भीमेश्वर नगरपालिका ६ का किसान बलराम थापाले गुनासो गरे । तर लामो समय किबी बिक्री नभएर बिग्रेको अवस्था भने छैन ।

किबी किसानले सय ग्रामभन्दा माथिलाई ए ग्रेड, ७०–१०० ग्रामलाई बी ग्रेड र ७० ग्रामभन्दा मुनिकालाई सी ग्रेड निर्धारण गरी बिक्री गर्न थालेपछि उपभोक्ताले पनि मूल्यअनुसारको किबी छानीछानी लाने गरेको चरीकोट बजारका व्यापारी चित्रप्रसाद दाहालले बताए । अहिले किसानले बोटबाटै प्रतिकेजी १५० रुपैयाँमा किबी बेचिरहेका छन् भने दोलखाको स्थानीय बजारमा ग्रेडअनुसार प्रतिकेजी १८० देखि २ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

किबी जोन सञ्चालक समिति संयोजक उषा थापाले किसानको समस्यालाई ध्यानमा राख्दै भीमेश्वर नगरपालिका ८, बोचमा किबी कोल्डस्टोर बन्दै गरेकाले अर्को वर्षदेखि किबी किसानलाई राहत मिल्ने बताइन् ।

प्रकाशित मिति : ८ पुष २०७६, मंगलवार ०७:२०