१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

प्रदेश १ लाई उत्कृष्ट पर्यटकीयस्थलको रुपमा विकास गर्छाैँः मुख्यमन्त्री राई

७ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यो प्रदेशलाई उत्कृष्ट पर्यटकीयस्थलको रुपमा विकास गरिने बताउनुभएको छ ।नेपाल भ्रमण वर्ष २०२० लाई भव्य एवं सभ्य बनाउन गरेको तयारीको विषयमा जानकारी गराउने उद्देश्यले प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सरकारले छनोट गरेको १०० गन्तव्य स्थानमा यो प्रदेशमा १६ रहेको र यी सबै स्थानलाई पर्यटकीयस्थलको रूपमा विकास गर्न गुरुयोजना बनाउन लागेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले यस प्रदेशमा पाँच लाख पर्यटक भित्र्याउन प्रदेश सरकारले आफ्ना कार्ययोजनासहित अघि बढ्न समितिलाई निर्देशन दिँदै पर्यटन वर्षभरिमा गरिने कार्यको पनि सूची सार्वजनिक गर्न निर्देशन दिनुभयो ।


प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिका संयोजक एवं उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री जगदिश कुसियतले पर्यटकीय क्षेत्रको विकासबाट नै देशको अर्थतन्त्र बलियो हुने र देशको चिनारी पनि बढ्ने भएकाले यसका लागि सबैले जिम्मेवारीपूवर्क कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरण सचिव सञ्जीव राईले पुस १६ गते स्थानीय शहीद रङ्गशालामा पर्यटन वर्ष २०२० को शुभारम्भ हुने र सो अवसरमा हेलिकप्टरबाट पुष्प अर्पण, विभिन्न सङ्घ संस्थाबाट झाँकी प्रदर्शन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल स्काउटको तर्फबाट मार्च पास गरिनुका साथै ड्रोनबाट नेपालको झण्डा फहराउने जस्ता गतिविधि हुने जानकारी दिनुभयो ।

सो अवसरमा होटल व्यवसायी सङ्घ विराटनगरका अध्यक्ष राजन श्रेष्ठले एक वर्षमा आउने पर्यटकलाई खानामा १५ प्रतिशत र बासमा २० प्रतिशत छुट दिने घोषणा गर्नुभयो ।

प्रकाशित मिति : ७ पुष २०७६, सोमबार १९:४४